दाङ, असार ३ । अर्घाखाँचीमा क्वारेन्टिनमा बसेका एकजनाले आत्महत्या गरेका छन् । शितगंगा नगरपालिका वडा नं. ५ को हरि माविको क्वारेन्टिनमा बसेका ४३ वर्षीय एक व्यक्तिले बुधवार विहान विद्यालय परिसरमा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । प्रहरी अधिकारीका अनुसार विहान संगै बसेका साथीहरुलाई उठाएर विहान ३ बजेतिर उनी शौचालय गएका थिए । त्यसपछि उनका साथीहरु सुतेपछि उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरेका छन् ।
उनी जेठ १० गते भारतबाट आएर क्वारेन्टिन बस्दै आएका व्यक्ति हुन । जसको आरडिटी परीक्षणमा कोरोना एन्टिबडी देखिएको थियो । जेठ २६ गते पिसिआर परीक्षणको लागि स्वाब संकलन गरेर भैरहवा पठाइएको भएपनि अझैसम्म त्यसको रिपोर्ट भने आइ नसकेको प्रहरी अधिकारीले बताएका छन् । अर्घाखाँची प्रहरी प्रमुख डिएसपी माधव बुढाथोकीले पिसिआर रिपोर्ट नआउँदासम्म शव रुखमै झुण्डिएको अवस्थामा रहने र रिपोर्ट आएपछि मात्रै शव निकाल्ने जानकारी दिए ।