तुलसीपुर, असार १ । लकडाउनको ८४ दिनपछि जिल्लाका बजारहरु सोमवारदेखि खुलेका छन् । विश्व व्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरससंग जोगिन नेपाल सरकारले चैत ११ देखि लकडाउन सुरु गरेको थियो । लकडाउन खुलेपछि बजारमा किनमेल गर्ने सर्वसाधारणको चहलपहल व्यापक देखिएको छ । बित्तिय संस्था र सरकारी कार्यालयहरुमा पनि मानिसहरुको बाक्लो जमघट देखिएको छ ।लकडाउनको ८४ दिनपछि जिल्लाका बजारहरु खुलेका छन् । सम्पूर्ण सरकारी कार्यालयपनि सञ्चालनमा आएका छन् । सोमवारबाट दुई सिफ्टमा सरकारी कार्यालयहरु सञ्चालन गर्न परिपत्र जारी सरकारले गरेको छ ।
बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन गर्न स्थानीय प्रशासनले पनि निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले त्यस्तो निर्देशन दिएका छन् ।सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक र कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधन समेत सञ्चालन आएका छन् ।
बन्दाबन्दीलाई खुकुलो बनाए पनि तत्कालका लागि मानिसको बढी भीडभाड हुने र सहभागिता बढी हुने पठनपाठन, अनुमति प्राप्तबाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएकाबाहेकका अन्तराष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सबै प्रकारका तालीम, सेमिनार, सभा, गोष्ठी र भेला, सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, शैलुन, ब्युटीपार्लर, स्वीमिङपुल, सपिङ मल, समूहमा खेलिने खेलकूद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल सञ्चालनमा भने रोक लगाइएको छ ।