
रुपेन्देही, जेठ २८ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छीबजारमा मंगलबार राति ५ जनाको हत्या गर्ने एक अभियुक्तलाई प्रहरीले बुधवार सार्वजनिक गरेको छ ।भएको सामूहिक हत्याकाण्ड व्यक्तिगत रिसिइबीका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।सुर्खेत लेकबेंसी नगरपालिका वडा नं. ५ घर भई गत वैशाखदेखि कान्छी बजारको मैनहवास्थित स्थानीय कृष्णबहादुर पुनको गंगादेवी पशुफर्ममा काम गर्ने झसेन्द्र सिंजालीले ५ जनाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखिएको छ ।
सिंजालीले आफूसँगै फर्ममा काम गर्ने ४० वर्षीय माधव मुसहर उनकी ३७ वर्षीय पन्ति जानकी मुसहर, १६ वर्षीय पोखराज मुसहर, स्थानीय १५ वर्षीय करण चौधरी र १६ वर्षीय आशिष चौधरीको मंगलबार राति साढे ११ बजे हत्या गरेका थिए ।पक्राउ परेका सिंजालीले प्रहरीसँगको बयानमा मुसहर दम्पत्तिले आफ्नो चरित्र हत्या गर्ने गरेको र साहूलाई समेत कुरा लगाउने गरेको हुँदा त्यसैको बदला लिन उनीहरूको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।
सामूहिक हत्या घटनाको अनुसन्धानको लागि गठित अनुसन्धान टोलीका प्रमुख प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले पत्रकार सम्मेलनमा अभियुक्त सिंजालीले आफूलाई लगाउँदै आएको आरोपको बदला लिन हत्या गरेको वयान दिएको जानकारी दिए ।‘प्रहरीसँगको बयानमा सिंजालीले मुसहर दम्पत्तिले आफूलाई ‘भैंसी करणी’ गरेको जस्ता चरित्रमा आक्षेप लगाउने गरेको र उक्त कुरा साहू तथा अन्यलाई समेत भन्दै आफूलाई मानसिक यातना दिएको हुँदा बदला लिन हत्या गरेको बयान गरेका छन्,’ एसएसपी बैदवारले भने ।

सिंजालीको पत्निले केही समय अगाडि मात्रै उनलाई छोडेर गएकी थिइन । ‘ मंगलवार सबैले मदिरा खाँदा समेत मलाई सोही आरोप लगाएर बदनाम गर्न खाजेकोले आवेशमा आएर सबैको हत्या गरेको सिंजालीले बयानमा भनेका छन्,’ एसएसपी बैदवारले भने ।सिंजालीले चारै जनालाई सुरूमा लठ्ठी प्रहार गरी अचेत बनाइ सकेपछि फरुवाले हानेर सबैको हत्या गरेको प्रहरीलाई वयानमा बताएका छन् । सिंजालीका विरुद्ध जिल्ला अदालत रुपन्देहीबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।