दाङ, जेठ २७ । मनोसामाजिक समस्यासँग सामना गर्न मनोविमर्ष सेवा दिन टोल फ्रि नम्बर सुरु गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले कोरोना भाईरसका कारण हुन सक्ने मानसिक समस्या संग सामाना गर्न टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो । कोरोना भाइरसको कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा हुन सक्ने मानसिक तथा मनोसामाजिक समस्याका विरुद्धमा मनोविमर्ष दिन केन्द्रले मंगलवारदेखि १६६०८२१८००० नम्बरको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो ।
संस्थाका अध्यक्ष कल्पना न्यौपानेले कुनैपनि व्यक्तिले आफू लगायत परिवारका कुनै पनि सदस्यहरुमा मानसिक एवं मनोवैज्ञानिक असर देखा परेमा केन्द्रमा फोन गर्न आग्रह गरिन । शनिवार बाहेक हरेक दिन विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निशुल्क मनोविमर्ष सेवा लिन सकिने न्यौपानेले बताइन । कोरोना भाईरसको त्रासका कारण पछिल्लो समय मानसिक तथा मनोसामाजिक समस्या बढ्दै गएको मनोविमर्षकर्ता लक्ष्मी ढकालले जानकारी दिइन ।
मानसिक तथा मनोसामाजिक असर परेमा डर लाग्ने, चिन्ता लाग्ने, आत्तिने, छटपटी हुने, अत्यधिक टाउको दुख्ने, चिट चिटाहट हुने, मुटुको धड्कन बढ्ने, रुन मन लाग्ने, आत्मबलमा कमि आउने, आत्महत्याको सोचहरु आउने, ध्यान केन्द्रित गर्न गाह्रो हुने, भ्रमपूर्ण विचारहरु आइरहने, काम गर्न जागर नलाग्ने, धुम्रपान तथा मद्यपानको अत्यधिक प्रयोग गर्ने, एकान्त मन पराउने, नकारात्मक सोचाईहरु आईरहने जस्ता विभिन्न लक्षणहरु देखिने गर्छन । यी लक्षणहरु दुई हप्ताभन्दा बढि देखिएमा मनोविमर्ष आवश्यक पर्ने हुँदा तालिमप्राप्त व्यक्तिवाट सेवा लिनुपर्ने ढकालले बताइन ।