जेठ २६। कोरोना भाइरसका कारण विश्वमा ज्यान गुमाउनेको संख्या आइतबार ४ लाख नाघेको रोयटर्सले जनाएको छ। पछिल्लो समय ल्याटिन अमेरिकी देश ब्राजिल र दक्षिण एसियाली मुलुक भारतमा कोरोनाको संक्रमण धेरै बढिरहेको छ। कोरोनाका एक चौथाई मृतक अमेरिकाबाट हुन भने ब्राजिलमा मृतकको संख्या तीव्र गतिमा बढ्न थालेको छ। विश्व विवरणका अनुसार हालसम्म संसारका ७० लाख मानिसलाई कोरोनाको संक्रमण भएको छ। संक्रमितमध्ये २० लाख संक्रमित अमेरिकाका हुन्।
यो विश्वको कुल संक्रमित संख्याको ३० प्रतिशत हुन आउँछ। यसैगरी ल्याटिन अमेरिकामा यो संख्या १५ प्रतिशत रहेको रोयटर्सको तथ्यांकले जनाएको छ। कोरोनाबाट पहिलो मृत्यु चीनको वुहानमा जनवरी १० मा रेकर्ड भएको थियो।पछिल्लो तथ्यांकले १ लाख मानिसले पछिल्लो संख्या २४ दिनमा ज्यान गुमाएको देखाएको छ, जबकी महामारी सुरु भएपछि अप्रिलको सुरूमा मात्र पहिलोपटक मृतक संख्या १ लाख पुगेको थियो। हाल कोरोनाका कारण सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ।त्यहाँ हालसम्म करिब १ लाख १० जनाको मृत्यु भइसकेको छ। पछिल्लो समय ब्राजिलमा मृतकको संख्या बढ्दै गएको छ।
यस्तै कोरोनाबाट दोश्रो धेरै मृत्यु बेलायतमा भएको छ। रोयटर्समा प्रकाशित समाचारका अनुसार आधिकारिक रूपमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख भएपनि वास्तविक संख्या योभन्दा धेरै हुनसक्ने अनुमान गरिदैं आइएको छ। संसारका थुप्रै देशमा परीक्षण कम हुनु र अस्पतालबाहिर भएका मृत्युलाई तथ्यांकमा समावेश नगरिएकाले कोरोनाका कारण हुने मृत्यु भनिएभन्दा धेरै हुनसक्ने अनुमान गरिएको हो।