तुलसीपुर, जेठ १७ । तुलसीपुरमा शनिवार विहान मृत फेला परेका युवालाई उनकै साथीहरुले हत्या गरेको भन्ने खुल्न आएको प्रहरीको प्रारम्भीक अनुसन्धानवाट खुलेको छ । २९ बर्षीय मन्दिप भूज विहान तुलसीपुर ५ बसपार्कमा मृत अवस्थामा फेला परेका थिए । उनको टाउकोमा गहिरो घाउ थियो । प्रहरीले त्यसैको आधारमा अनुसन्धान गर्न संगै मदिरा सेवन गरेका उनका साथीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हत्याको रहस्य खुलेको स्रोतले बताएको छ ।
स्रोतले भन्यो ‘ हत्यामा प्रयोग भएको ढुँगा समेत बरामद भएको छ र त्यो पनि नियन्त्रणमा लिएकै एक युवाले प्रहरीलाई देखाएका हुन।’संगै मदिरा सेवन गरेका साथीहरु मध्यका केहीले ढुंगाले हानेर भूजको हत्या गरेको भन्ने प्रारम्भीक अनुसन्धानवाट खुलेको स्रोतले बताएको छ । शुक्रवार राति तुलसीपुर अटोभिलेज नजिकै रहेको एक होटेलमा उनीहरुले मदिरा सेवन गरेका थिए ।
तुलसीपुरको अटो भिलेजमा काम गर्ने भूज तुलसीपुर ९ दोघरेमा कोठा भाडामा बस्दै आएका थिए ।भूजेलको हत्याको कारण मदिरा सेवन पछि भएको देखिएपनि थप अनुसन्धान हुन बाँकी रहेको स्रोतले बताएको छ । ‘पुरानो रिसीविकाकारण उनको हत्या भएको हो कि अन्य केही कारण छन्, त्यसवारे अनुसन्धान हुन बाँकी छ,’ एक प्रहरी अधिकारीले भने ।
प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका ८ जना मध्य ४ जनालाई छोडेको छ भने थप ४ जनामाथि अनुसन्धान अगाडि बढाएको छ । घटनामा संलग्न रहेको आशंकामा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ कपडादेवी निवासी सौरभ पोख्रेल, तुलसीपुर–५ निवासी अजय बुढाथोकी, र आशिष नेपाली, तुलसीपुर १८ का ओमबहादुर सार्कीमाथि थप अनुसन्धान भइरहेको स्रोतले बताएको छ ।