दाङ, जेठ १६ । शुक्रवार दाङमा थप पाँच जना कोरोना संक्रमित थपिएका छन् । दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकामा चार जना र पश्चिम दाङको बबई गाउँपालिकामा थप एक जनामा कोरोना संक्रमन देखिएको हो । बंगलाचुली गाउँपालिका ४ का ३८ बर्षीय एक पुरुष , वडा १ का २७, २८ र ३३ वर्षका तीन पुरुषमा कोरोना संक्रमन पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतले बताएको छ ।
त्यसैगरी कोरोना बबई गाउँपालिका वडा नं.–६ हापुरेका ३० बर्षीय एक युवामा पनि कोरोना भेटिएको छ । उनी बबईको जनकल्याण मावि पदमपुरमा क्वारेन्टाइन थिए । बंगलाचुलीका संक्रमित मध्य भुलीडाँडा क्वारेन्टाइनमा बस्ने एक जना र महेन्द्र मावि स्युजा क्वारेन्टाइनमा बस्ने तीन जना रहेका छन् । नयाँ फेला परेका संक्रमितहरु सबै केही दिन पहिले भारतवाट आएकाहरु हुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिवाट उनीहरुको स्वाब परीक्षण हुँदा कोरोना पुष्टि भएको हो । यो संगै जिल्लाका २७ जनामा कोरोना संक्रमन पुष्टि भएको छ भने २ जना निको भएर घर गएका छन् ।