दाङ, जेठ १५ । बाँकेमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । नयाँ बाँकेमा प्रमुख जिल्ला अधिकारीका रुपमा रामबहादुर कुरुम्बाङ आए लगतै जिल्ला भर निषेधाज्ञा जारी गरेका हुन । बुधवार राति १० बजेदेखि जारी गरिएको निषेधाज्ञा अर्कौ आदेश नहुँदासम्म जिल्लाभर जारी रहने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले विज्ञप्ति मार्फत बताएका छन् ।
जसमा उनले बाँकेमा हालसम्म १ सय ७० जनामा कोरोना पुष्टि भएको तथा १ जना संक्रमितको मृत्यु समेत भइसकेकाले सजकता अपनाउन, संक्रमणको बिस्तारलाई रोक्न निषेधाज्ञा जारी गर्नु परेको उल्लेख गरेका छन् । आदेशको उलंघन गर्नेलाई कानुन बमोजिम कारवाही हुने चेतावनी दिइएको छ । कोरोना भाइरस विरुद्ध सचेतनामूलक र प्रवद्र्धनात्मक कार्य गर्न जरुरी रहेको भन्दै उनले अत्यावश्यक बाहेक सबै सेवा र स्थलमा निषेधाज्ञा जारी गरिएको उल्लेख गरेका छन् ।
तर उनले राजपत्रमा तोकिएका अत्यावश्यक सेवाहरु पनि जारी रहने बताएका छन् । त्यसमा भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धि सेवा पर्छन । त्यस्तै मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य पनि पर्छन । उनले विज्ञप्तिमा खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षिजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशप बाहेकमा निषेधाज्ञा जारी गरिएको बताएका छन् ।