दाङ, जेठ १४ । रुकुम पश्चिममा शनिवार बेलुका भएको काण्ड पछि बेपत्ता मध्यका जाजरकोटका थप एक युवाको शव बुधवार फेला परेको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिकाका निवासी १८ बर्षीय लोकेन्द्र सुनारको शव कुदु भन्ने स्थानमा तैरीहरेको अवस्थामा फेला परेको हो ।बाँकेवाट गएका सशस्त्र प्रहरीका गोताखोरले सुनारको शव फेला पारेका हुन । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले अझैं थप दुईजनाको अवस्था अज्ञात रहेको जानकारी दिए । जसमा सोही ठाउँका १८ बर्षका सञ्जु विक र १७ बर्षीय गोविन्द शाही रहेका छन् ।
गत शनिवार रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हाम फालेकामध्ये सोमबार बेलुकी जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. ४ का का १७ वर्षीय गणेश बुढा मगरको शव फेला परेको थियो।घटना भएकै दिन शनिबार राति १० बजेतिर केटी लिन भनेर सोती गाउँ पुगेका सोही ठाउँका २१ वर्षीय नवराज विकको र रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. १ का २० वर्षीय टीकाराम सुनारको शव आइतबार बिहान सानी भेरी नदी किनारमा फेला परेको थियो।
गत शनिबार बेलुका ५ बजेतिर मल्ल थरकी केटीलाई भगाएर ल्याउने भन्दै मृतक नवराज विकले थप १८ जना साथी लगेर रुकुमपश्चिमको चौरजहारी पुगेको समयमा घटना भएको थियो । नदीमा हाम फाल्न डराएका थप १२ जनालाई भने सोती गाउँका स्थानीयले सोही दिन कुटपिट गरि प्रहरीलाई बुझाएका थिए । अपराधिक कार्यमा सम्लग्न रहेका भन्ने आरोपसहित प्रहरीमा २० जना विरुद्ध किटानी जाहेरी परेको छ ।