
दाङ, जेठ १४ । शनिवार बेलुका भएको घटनापछि वेपत्ता रहेका जाजरकोटका तीन युवाको खोजी कार्यका लागि गोताखोरले बुधवार विहानै देखि खोजी कार्य सुरु गरेका छन् । जाजरकोटका जिल्ला प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले बाँकेको सम्शेरगन्जवाट सशस्त्र प्रहरीको सात जनाको गोताखोर टोली आएको र उनीहरुले ठूली भेरी नदीमा जाजरकोट क्षेत्रवाट विहानदेखि खोजी सुरु गरेको जानकारी दिए । भेरी नदीको अलजिउला भन्ने स्थानवाट खोजी कार्य सुरु भएको उनले बताए ।
बाँकेवाट आएका सातजना मध्य तीनजना गोताखोरको रुपमा बेपत्ताहरुको खोजी कार्यका लागि नदीमा पसेको र थप चार जना सुरक्षाको लागि खटिएको श्रेष्ठले जानकारी दिए । प्रहरीका अनसार जाजरकोटको भेरी नगरपालिका निवासी १८ बर्षीय लोकेन्द्र सुनार, १८ बर्षकै सञ्जु विक र १७ वर्षीय गोविन्द शाही शनिवार बेलुकाको घटना पछि बेपत्ता छन् । लखेट्दै आएका मानिसहरुबाट जोगिन उनीहरुले पनि नदीमा हाम फालेको भन्दै गोताखोर बोलाएर खोजी कार्य थालिएको हो ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन १९ जना मध्य ७ जनाले ठूली भेरी नदीमा हाम फालेका उनका साथीहरुले प्रहरीलाई बताएका छन् । त्यसरी नदीमा हाम फालेका मध्ये सोमबार बेलुकी जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. ४ का का १७ वर्षीय गणेश बुढा मगरको शव फेला परेको थियो।
घटना भएकै दिन शनिबार राति १० बजेतिर केटी लिन भनेर रुकुम पश्चिमको चौरजाहारी नगरपालिका वडा नं. ८ सोती गाउँ पुगेका जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. ४ का २१ वर्षीय नवराज विकको र रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. १ का २० वर्षीय टीकाराम सुनारको शव आइतबार विहान सानी भेरी नदी किनारमा फेला परेको थियो।
शनिवार बेलुका ५ बजेतिर मल्ल थरकी केटीलाई भगाएर ल्याउने भन्दै मृतक नवराज विकले थप १८ जना साथीहरु लगेर रुकुमपश्चिमको चौरजाहारी पुगेको समयमा घटना भएको थियो । केटीकी आमाले दलितको छोरा भएर मल्लकी छोरी जवरजस्ती लान खोज्ने भन्दै गाउँलेसंग गुहार मागेपछि उक्त घटना भएको जाजरकोटबाट गएका घाइते युवाहरुले प्रहरीलाई बताएका छन् । तर केटी पक्षका मानिसहरुले भने उनीहरु लडाई झगडा गर्ने उदेश्यले गाउँका अन्य केटाहरुलाई समेत खोज्दै हिडेको हुँदा र लकडाउनको समयमा लकडाउन उलंघन गर्दै गाउँमा ठूलो संख्यामा आएको हुँदा उनीहरुलाई लखेट्ने क्रममा घटना भएको दबी गरेका छन् ।
त्यहाँ जाने मध्य केही युवाहरु सल्यान र बाँके, जाजरकोट र रुकुम पश्चिम जिल्लाका समेत रहेको प्रहरीले जानकारी दिएको छ । रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले बेपत्ता युवाहरुको उद्धार र खोजी कार्यका लागि कर्णाली प्रदेशवाट ३० जना थप जनशक्ति आएको जानकारी दिएका छन् ।घटना अनुसन्धान कार्यमा सहयोगका लागि संघीय प्रहरी इकाईबाट एकजना प्रहरी निरीक्षकको कमाण्डमा थप दुईजनाको टोली पनि यसअघि नै त्यहाँ पुगेको छ । गृहमन्त्रालयले पनि मंगलवार घटनाको निष्पक्ष छानविन गर्न भन्दै एउटा समिति बनाएको छ ।
रुकुम काण्ड – २० जना विरुद्ध किटानी जाहेरी
रुकुम पश्चिममा शनिबार भएको घटनालाई लिएर पीडित पक्षले २० जना विरुद्ध किटानी जाहेरी दिएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँका २० जना विरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी प्रमुख केसीले बताए । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जाजरकोट मार्फत रुकुम प्रहरीमा किटानी जाहेरी दिएको डिएसपी केसीले बताए ।
घटना भएको दुई दिन पछि रुकुम प्रहरीले चौरजहारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १२ जनालाई पक्राउ गरेको छ । डिएसपी केसीका अनुसार पक्राउ पर्ने अन्य व्यक्तिहरुमा १७ बर्षीया केटी, केटीका बुवा बीरबहादुर, आमा प्रकाशी मल्ल, गाउँलेहरु डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत रहेका छन् । पीडित पक्षले वडाध्यक्ष मल्ल, उनका बाबु बीरबहादुरसहितका मानिसहरुले लखेटी लखेटी आफ्ना सन्तानको हत्या गरेको जाहेरीमा उल्लेख गरेका छन् । किटानी जाहेरी अनुसार घटनामा संलग्न रहेका भनिएका अन्य ८ जनाको खोजी भइरहेको जानकारी दिए ।