
दाङ, जेठ १४ । भारतको गुजरातबाट आएका सुर्खेतका एक युवाको मंगलबार राति मृत्यु भएको हो । सुर्खेतको चिङ्गगाड गाउँपालिका ५ का २२ वर्षीय युवाको मृत्यु भएको छ । उनी मंगलबार रुपैडिया नाकाबाट सुर्खेत गएका थिए ।
उनलाई वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा भर्ना गरिएको थियो । उनको रातको १२ बजे अस्पतालमै मृत्यु भएको प्रहरीले बताएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले वज्ञप्ति मार्फत ती युवाको मृत्युको पुष्टि गरेका छन् । मृतकको स्वाब पीसीआर परीक्षणका लागि निकालिएको छ ।
त्यस्तै बर्दियाको गुलरियाको बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मंगलबार साँझ ८ बजेतिर मृत्यु भएको छ । गुलरिया नगरपालिका–९ का ५५ वर्षीय ती व्यक्तिको क्वारेन्टाइनमा मृत्यु भएको थियो । उनी अछामबाट मजदुरी गरी फर्केका व्यक्ति हुन । मृतकको शव जिल्ला अस्पताल गुलरियामा राखिएको छ । स्वाब संकलन गरी परीक्षणको लागि पठाइने भएको छ ।