२०८१ मङ्सिर २७ गते बिहिवार

कर्णाली प्रदेशले बेपत्ताहरुको खोजी र उद्धार कार्यका लागि ३० प्रहरी रुकुम पठायो

दाङ, जेठ १३ । रुकुम पश्चिममा शनिवार बेलुका भएको घटनापछि सानी भेरी नदीमा बेपत्ता भएका भनिएका तीन युवाको खोजी र उद्धार कार्यका लागि कर्णाली प्रदेश सरकारले ३० जना प्रहरी रुकुम पठाएको छ । रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले बेपत्ता युवाहरुको उद्धार र खोजी कार्यका लागि कर्णाली प्रदेशवाट ३० जना थप जनशक्ति सोमबार बेलुका आएको जानकारी दिए ।

त्यसैगरी घटना अनुनसन्धान कार्यमा सहयोगका लागि संघीय प्रहरी इकाई वाट एकजना प्रहरी निरिक्षकको कमाण्डमा दुईजना आएको केसीले जानकारी दिए । सोमवार बेलुका आइपुगेको थप जनशक्तिले बेपत्ताहरुको खोजी तथा उद्धार कार्य मंगलवार विहानदेखि सुरु गरेको डिएसपी केसीले बताएका छन् ।

यसैबीच सानी भेरी नदीमा बेपत्ता जाजरकोटका तीन युवाको खोजी गर्न प्रहरीले गोताखोरहरुको समेत माग गरेको छ । जिल्ला प्रहरी प्रमुख केसीले जाजरकोटको भेरी नगरपालिका वडा नं. ११ का १८ बर्षीय लोकेन्द्र सुनार, १८ बर्षकै सञ्जु विक र १७ बर्षीय गोविन्द शाही घटना पछि बेपत्ता रहेको हुँदा उनीहरुको खोजी कार्यकालागि केन्द्रमा गोताखोर माग गरिएको जानकारी दिए । केन्द्रमा पत्रचार गरि गोताखोर मागिएको हुँदा गोताखोर आएपछि नदीमा बेपत्ताहरुको खोजी गर्ने कार्य सुरु हुने डिएसपी केसीले बताए ।

रुकुम पश्चिमको चौरजाहारी नगरपालिका वडा नं. ८ सोती गाउँका स्थानीयले लखेटेपछि भाग्दै जाने क्रममा ज्यान जोगाउन सानी भेरी नदीमा हाम फालेका मध्य सोमबार बेलुकी जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ का १७ बर्षीय गणेश बुढा मगरको शव फेला परेको छ । घटना भएकै दिन शनिवार राति १० बजेतिर केटी लिन भनेर सोती गाउँ पुगेका २१ बर्षीय नवराज विकको र २० बर्षीय टीकाराम सुनारको शव आइतबार विहान सानी भेरी नदी किनारमा फेला परेको थियो। नदीमा हाम फाल्न डराएका थप १२ युवालाई भने स्थनीयले कुटपिट पछि नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *