दाङ, जेठ १२ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाँकेले सोमवार दोस्रो पटक जारी गरेको विज्ञप्तिमा फेरि पनि त्रुटी फेला परेको छ । उस्ले आइतवार बेलुका बाँकेका ४ जना कोरोना संक्रमितको ठेगाना गलत लेखेको थियो । त्यो खवर सार्वजनिक भएपछि सोमवार विहानै विज्ञप्ति जारी गर्दै उस्ले त्यो सच्याएको भएपनि अझैंपनि एक ठाउँमा त्रुटी फेला परेको छ ।
सोमवार दोस्रो पटक जारी बिज्ञप्तिमा बाँकेका संक्रमित चार मध्य दुई जना दूधवा गाउँपालिका वडा नं. २ का २३ र २४ बर्षीय पुरुषको अमृतपुरुवावाट नमुना संकलन गरिएको उल्लेख छ । बाँकेमा दुधवा गाउँपालिका छैन । बरु त्यो डुरुवा गाउँपालिका हो । त्यसैले फेरिपनि प्रतिष्ठानले त्रुटी सच्याउनु पर्ने देखिएको छ ।
प्रतिष्ठानले आइतवार बेलुका जारी गरेको विज्ञप्तिमा बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकाका वडा नं. ५ का ४ युवामा कोरोना संक्रमन देखिएको उल्लेख थियो । उस्ले आज त्यो सच्याउँदै राप्ती सोनारी गाउँपालिका वडा नं. ७ का १६ र २३ बर्षीय दुई पुरुषहरुमा संक्रमन देखिएको जानकारी दिएको छ । उनीहरुको स्वाब नेपाल राष्ट्रिय मावि सर्रीवाट संकलन गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।
राप्ती सोनारी गाउँपालिकाको वडा नं. ५ मा हालसम्म स्वाब नै संकलन भएको छैन । स्रोतका अनुसार त्यहाँ सोमवार मात्रै स्वाब संकलनको तयारी भइरहेको छ । त्यस्तै प्रतिष्ठिानले संक्रमित युवाहरुको स्वाब संकलन गरिएको स्थान नारायणपुर भवनपुर मावि भन्ने उल्लेख गरेको थियो । वडा नं. ५ मा त्यो ठाउँनै नरहेको स्थानीयले बताएका छन् ।

