
दाङ, जेठ ९ । थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ ।शुक्रबार विहान ३० जना दिउँसो २० जना यस्तै शुक्रबार साँझ ९ जना कोरोना संक्रमण पुष्टि भएको हो । आज मात्रै एकै दिन ५९ जनामा कोराना संक्रमन देखिएको हो ।
शुक्रबार साँझ बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमन भएको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै, सप्तरीको बलान-बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका-९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
शुक्रवार नेपालगन्जका २१ जना उपचार पछि निको भएर घर फर्किएका छन् । त्यस्तै प्रदेशनम्बर १ मा २६, प्रदेश नम्बर २ मा ६, बागमती प्रदेशमा ९, गण्डकी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना निको भएर घर फर्किएका छन् ।