
दाङ, जेठ ८ । बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीमा एक जनासहित ९ जनामा कोरोना भाइरस देखिएको छ । झापाका संक्रमित सबै पुरुष हुन । झापामा फेला परेका नयाँ संक्रमितहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका पुरुषहरु हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले झापाका संक्रमितहरु सबै कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको जानकारी दिए ।
त्यसैगरी रुपन्देहीमा २७ बर्षीय एक युवामा पनि कोरोना संक्रमन देखिएको छ । विहिवार बिहान मात्रै थप १७ जनामा कोरोना पुष्टि भएको थियो । जसमा झापाका १५ र धनकुटा र सुनसरीका एक÷एक जना थिए । झापामा एकैदिन २३ नयाँ संक्रमित थपिएका हुन ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । यसैबीच बिहीबार चारजना टेकु अस्पतालबाट निको भएर घर गएका छन् । अहिलेसम्म ४९ जना उपचार पछि निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म पिसिआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । बिहीबार नै गल्मीमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु भएकाको संख्या तीन पुगेको छ ।