२०८२ बैशाख ११ गते बुधवार

नरैनापुरका संक्रमितलाई नेपालगञ्ज ल्याउँदा अवरोध गर्नेलाई कारवाहीको माग

नेपालगञ्ज, जेठ ७ । बाँके नरैनापुरका कोरोना संक्रमितहरुलाई नेपालगञ्ज ल्याउन खोज्दा अवरोध गरेर अमावनीय हर्कत देखाउनेहरुलाई कारवाही गर्नुपर्ने माग चौतर्फी उठेको छ । उनीहरुलाई नेपालगञ्ज ल्याउन खोज्दा स्थानीय केही नेता र अगुवाहरुले नै अनर्गल प्रचार गरेर स्थानीयलाई नै अवरोधमा उतारे पछि तनाबको अवस्था सिर्जना भएको थियो ।

उनीहरुलाई नेपालगञ्ज ल्याउने काम अबेर साँझ मात्र सम्भव भएको थियो । नेपाली सेनाको टोली त्यहाँ पुगेपछि स्थानीयलाई सम्झाईबुझाई गरेर वडा नम्बर २ लक्ष्मणपुरस्थित आदर्श मावि क्वारेन्टाइनका संक्रमित १२ जनालाई एम्बुलेन्समा राखेर नेपालगञ्ज ल्याउन सम्भव भएका थियो । कसैलाई केही भएको छैन, यिनीहरु स्वस्थ छन्, कोरोना भएको भन्ने झुठो रिपार्ट हो, सरकारले मार्न लगिरहेको छ, गोली हानेर वा गलत औषधि खुवाएर मार्छ भन्दै स्थानीयहरुलाई नै स्थानीय नेता एवम् अगुवाहरुले अवरोध गर्न हौसाएका थिए ।

संक्रमितलाई आइसोलेट गर्ने कार्य विरुद्ध स्थानीय नै प्रयोग भएर आन्दोलित भएपछि समस्या उत्पन्न भएको थियो । संक्रमित समेत उनीहरुसंगै सडकमा निस्केर प्रदर्शनमा उत्रेको अवस्था थियो । यसले कोरोना संक्रमणलाई अझ विस्तार गर्ने अनुमान गरिएको छ । ‘नेपालगञ्ज लैजान दिनु हुँदैन, यो सरकारको षड्यन्त्र हो, हाम्रा बालबच्चा मार्नलाई लगिँदैछ, हामी सबै प्रतिकारमा उत्रिनुपर्छ, दुई जना गाउँका अगुवा भनिएकाले नै माइकिङ्ग गरेरै यस्तो हर्कत गरेका हुन्,’ एक जना स्थानीयले भने । वडा नम्बर १ का स्थानीय पूर्व प्रधान इशाक जोलाहाको निर्देशनमा वडा नम्बर २ का पञ्चे भन्ने अकबाल शेष तथा वडा नम्बर १ का नफिज खाँ भन्ने नासिर अहमद खाँ, बड्कौ खाँ भन्ने नुर अहमद खाँ र जलिल तेली भन्ने चुन्नु तेली लगायतको समूहले अवरोध पुर्याएको बताइएको छ ।

नफिज र बड्कौले माइकिङ्ग गरेर सार्वजनिक आह्वान गर्दै विरोध प्रदर्शन गर्न हौसाएको स्थानीयले बताए । अनर्गल प्रचार गरेर समाजलाई भड्काउन खोज्ने तथा महासंकटको बेला पनि घटनालाई राजनीतिकरण गर्नेलाई कडा कारवाही हुनुपर्ने गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । ‘हामी समाजलाई कोरोनाको संकटबाट बचाउन खोज्दैछौं, केही मानिसहरु यस्तो बेला संकटलाई बढावा दिने गरी अमावनीय हर्कत देखाउँदैछन्, प्रशासनले उनीहरुलाई तत्काल कडा कारवाही गर्नुपर्छ,’ अध्यक्ष शाहले भन्नुभयो ।

सबैतिर अहिले गलत कार्य गर्नेलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग उठिरहेको छ । बाँके प्रशासनले अफबाह फैलाउने, प्रहरी प्रशासनको काममा अवरोध गर्ने र महामारीका बेला संक्रमितलाई अस्पतालमा ल्याउन नदिनु गलत कार्य भएको भन्दै घटनामा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याइने बताएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले भन्नुभयो–‘आवश्यक परे कानुनी कारवाही गर्नुपर्छ, त्यतातिर पनि हामीले हेरिरहेका छौं ।’ नरैनापुरका संक्रमितहरुलाई अबेर राति मात्र नेपालगञ्ज ल्याइएको थियो । उनीहरुलाई कहाँ राख्ने भन्ने विषयमा समयमै निर्णय लिएर तयारी गर्न नसक्दा आइसोलेसनमा ल्याउन निकै ढिला भएको थियो । यसले कोभिड–१९ विरुद्ध सरकारको तयारी फितलो देखिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *