दाङ, जेठ ५ ।सोमवार संक्रमित भनिएका दाङका व्यक्ति धुलिखेलमा कार्यरत रहेको खुल्न आएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले ती व्यक्ति दाङ घर भएपनि धुलिखेलमा कार्यरत रहेको भन्ने खुल्न आएको बताए । जिल्ला कारोना फोकल पर्सन कमल चन्दले एकीन नभएपनि संक्रमित भनिएका व्यक्ति घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर निवासी रहेको भन्ने सूचना आएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिले धुलिखेलको एक बैंकमा सिक्यूरिटीको काम गर्दै आएका छन् ।
सोमवार स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दाङका एक पुरुष भन्ने रहेको भएपनि त्यो भन्दा बढी ठेगाना भने खुलाएको छैन । प्रमुख जिल्ला अधिकारी रिजालले संक्रमित भनिएको व्यक्ति यो बीचमा घर आए नआएको ट्रेसिङ गरिने जानकारी दिए । ‘उहाँ यो बीचमा दाङ नआएको भए केही भएन आएर गएको भए उहाँको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गरिने छ,’ रिजालले भने ।