दाङ, जेठ ५ । न एकजना घरका सदस्य थिए न कुनै आफन्त मलामी । शब गाड्न जाने जम्मा ६ जना मात्रै थिए । त्यो पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र डोजर चालक । यो दृष्य आइवार बेलुकी ८ तिरको हो । बाँकेको नरैनापुर गाउँपालिका वडा नं. –५ नयाँ बस्तिका २५ वर्षीय युवाको अन्तेष्टि हुँदाको । ती युवा नेपालमा कोरोना भाइरसवाट मृत्यु हुने दोस्रो व्यक्ति थिए । परिवार जनको आग्रह अनुसार शव नजलाएर गाएिको हो । मृतक युवा मुस्लिम समुदायको रहेको हुँदा त्यसो गरिएको हो । सामान्ने अवस्थामा भइदिएको भए सबै गाउँले मलामी आउँथे होला । तर यहाँ, मृतकको शव छुन त के नजिक आउन समेत कोही मानेनन् ।
‘जिउँदाको जन्ति मर्दाको मलामी’ भन्ने नेपाली युक्तिले यहाँ काम गरेन । हालको परिस्थिति जो त्यस्तै छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड – १९ को त्रासदी सर्वत्र छ । दुई जना प्रहरी अधिकारी, नेपाली आर्मीका एकजना अधिकारी, सशस्त्र प्रहरीका एकजना अधिकारी, एकजना स्थानीय स्वास्थ्यकर्मी र एकजना चालक मात्रै त्यहाँ थिए । सबैले पिपिई लगाएका । उनीहरुले पनि शव छोएनन् । बेलुकी ८ बजेतिर जेसिबीमा बोकेर शव लगियो । ‘त्यसरी शव बोकेर लैजाँदापनि मानिसहरु पर पर भागे’ – बाँकेका जिल्ला प्रहरी प्रबक्ता शिबबहादुर सिंहले यही भने ।
ती युवाको मृत्यु भएको दीपेन्द्र प्रावि भगवानपुरको क्वारेन्टिनबाट शव निकाल्दा नै मानिसहरु झ्याल ढोका थुनेर घर भित्र लुकेका थिए । युवाको शव जेसिबीको अगाडिको बकेटमा बोकेर लगिएको थियो । प्रावि भगवानपुरवाट झन्डै तीन सय मिटर टाढा राप्ती नदी किरानमा पहिला शव गाड्न खोजियो । तर, स्थानीयले त्यहाँ गाड्न दिएनन् । कोरोना फैलिने त्रास जो थियो । ‘त्यहाँ शव गाड्न खोज्दा स्थानीयले हामीलाई लखेट्न खोजे,’ डिएसपी सिंहले भने ‘ त्यसपछि हामी थप २देखि ३ किलोमिटर टाढा शव बोकेर गयौं र त्यही गाड्यौं।’
७ फिट गहिरो खाडल खनेर शव गाडियो
भगवानपुरको क्वारेन्टिन खुल्ला ठाउँ र राप्ती नदीको किनारमा भएको हुँदा जेसिबीबाटै उठाएर शब लैजान सजिलो थियो । करिव ९ बजेतिर शव गाडेर सकियो । मृतकको शवलाई स्वास्थ्यकर्मीले प्लाष्टिकले पहिले नै बेरेर राखेका थिए । शव गाड्नु पूर्वपनि व्यापक सावधानी अपनाएको थियो । खाडल खन्नु पूर्व र खाडल खनेर सकेपछि केमिकल राखियो । शव राखेर खाल्डो पुरेपछि पनि त्यसैगरी केमिलक छरियो ।
सबैले लगाएर गएका पिपिईपनि त्यही निकालेर जलाइयो । डोजरमा पनि पुरै औषधी छरियो । औषधी छर्ने ट्याङ्की पनि जलाइयो । शव उठाउनु पूर्व र शव गाडेर आएपछि पनि ती युवा मरेको दीपेन्द्र प्रावि भगवानपुरको क्वारेन्टिनमा औषधी छरियो । शव उठाउनु भन्दा पहिला नै नरैनापुर गाउँपालिका वडा नं. ५ दीपेन्द्र प्रावि भगवानपुरको क्वारेन्टिन पुरै खाली गराई सकिएको थियो । भगवानपुर क्वारेन्टिनमा बसेका थप ३८ जनालाई आइतवार ती युवाको शव उठाउनु भन्दा पहिला नै वडा नं. ६ स्थित जय किसान माविको क्वारेन्टिनमा सारिएको थियो ।
शव गाड्ने कार्यमा सहभागि मध्यका एकजनाले सबैलाई सजग रहन फोनमा खवरदारी गरेका छन् । ‘ कोरोना लागेपछि न जिउँदो छँदा छुन पाइन्छ न मरेपछि,’ ती अधिकारीले भने ‘ त्यसैले सबैले पूर्व सावधानी अपनाउन जरुरी छ,हैन भने मृतक सबैको यही हाल हुन्छ।’ उनले घरमै बस्न र सुरक्षित विधि अपनाउन सबैलाई सुझाएका छन् ।