
हेमराज शर्मा,
दाङ, जेठ ४ । डिभिजन वन कार्यालय दाङले अवैध ढंगले काटिएको सालको ९१ क्यू फिट चिरान काठ बरामद गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १८ हात्तीखर्कका स्थानीय घर र आगनमा चिरान गरी राखेको अवस्थामा आइतबार दिउँसो ९१ थान सालको काठ बरामद गरेको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिएका छन् ।
लकडाउनको समयमा घर नजिकैको जंगलमा सामुदायिक वनमा अवैध ढंगले काठ काटेर राखेको भन्ने सुराकीका आधारमा डिभिजन वन कार्यालय दाङबाट गएको गस्ति टोलीले त्यो काठ बरामद गरेको हो । भौगोलिक दृष्टिले हात्तीखर्क विकट क्षेत्र हो ।‘काठ कटानका लागि कार्यालयबाट कुनै अनुमति लिएको छैन र काटिएका काठमा पनि कसैको टाँचा निशाना छैन,’–सहायक वन अधिकृत चौधरीले भने –‘लकडाउनको मौका छोपी बिक्रि गर्ने उद्देश्यले काटिएको हुन सक्छ।’ गस्ति टोली आउदै गरेको सूचना पाएपछि घरधनी बुढा भागेको कार्यालयले उनले बताए ।

बरामद भएको काठ डिभिजन वन कार्यालय दाङमा पठाइएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले बताए । यसैबीच गस्ति टोलीले वन्यजन्तु घोरलको छाला पनि बरामद गरेको छ । दुई वटा घोरलको छाला बरामद गरिएको सहायक वन अधिकृत सिद्धान्त बराले बताए । दुवै घटनाबारे छानविन भइरहेको र दोषिलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम कारबाही गरिने डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले बताए । लकडाउनको समयमा चोरी तस्करी हुन सक्ने भन्दै डिभिजन वन कार्यालय दाङले अलगअलग समूह बनाई वनगस्तिलाई तीव्र बनाएको छ ।
