
दाङ, जेठ ३ । कोरोना भाइरसका कारण नेपालमा पहिलो पटक शनिवार एक सुत्केरी महिलाको ज्यान गएको छ ।स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे निवासी २९ वर्षीया एक सुत्केरी महिलाको कोरोनाको कारण ज्यान गएको जानकारी दिएको हो । सुत्केरीलाई स्वासप्रस्वासमा समस्या भएपछि जेठ १ गते बाह्रविसेस्थित स्वास्थ्य केन्द्रमा लगिएको थियो । जहाँ र्यापिड टेष्ट गर्दा रिपोर्ट नेगेटिभ देखिएको थियो । तैपनि कोरोनासंग लक्षण मिल्ने भएको हुँदा उनलाई त्यहाँ धुलिखेल अस्पताल ल्याइएको थियो। त्यहाँवाट शनिवार आकस्मिक कक्षमा लैजाँदै गर्दा उनको बाटोमै ज्यान गएको जानकारी दिइएको छ।
ती महिलाले वैशाख २४ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन । उनलाई २५ गते नै अस्पतालले डिस्चार्ज गरेर घर पठाएको थियो । त्यसपछि उनी सिन्धुपाल्चोकको राम्चेस्थित घर गएकी हुन । कोरोनाका कारण ज्यान गएको पुष्टि भएपछि उनको घर र माइती दुबै ठाउँ शनिवार राति नै सिल गरिएको छ। त्यसअघि ती सुत्केरीलाई धुलिखेल अस्पतालमा पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएको थियो । तरपनि पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्वाब पठाइएको थियो। टेकुमा गरिएको परीक्षणमा पनि मृतकमा कोरोना पोजेटिभ देखिएको हो । मृतकको शव दाहसंस्कारको लागि पशुपति आर्याघाट ल्याइएको छ। नेपाली सेना र प्रहरीको टोलीले शब त्यहाँ पुर्याएका हुन ।