
फाइल तस्बिर
दाङ, जेठ ३ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं. ३ खदीमा आगलागी बाट एक महिलाको ज्यान गएको छ । शनिवार विहान साढे ९ बजेतिर भान्सामा काम गरिरहेही ३५ बर्षीया लाली बोहोरा देवकोटाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयले जारी गरेको बक्तव्यमा उक्त आगलागीमा परि देवकोटाका पति डम्मर देवकोटा र गाउँकै अर्का एक व्यक्ति भने समयमै निस्कन सफल भएको हुँदा सामान्य घाइते मात्रै भएका छन् । उनीहरु छुट्टै कोठामा थिए । तर भान्सामा काम गरिरहेकी लालीलाई भने एक्कासी आगोको मुल्लोले घेरेपछि निस्कन नसक्दा उनको भान्सा कोठामै जलेर ज्यान गएको प्रहरीले बताएको छ ।
तल्लो कोठामा भण्डारण गरि राखेको पेट्रोल लिक हुँदा त्यसैवाट आगो सल्केको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगलागी बाट देवकोटाको ३ तल्ले युक्त ६ कोठे घर भित्रका सम्पूर्ण खाद्यान्न, लत्ता कपडा तथा सर सामान जलेर नष्ट भएको छ ।