तुलसीपुर, जेठ ३ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी ३४ बर्षीय कोरोना संक्रमित व्यक्तिको पहिचान अझैं हुन सकेको छैन । यसअघि संक्रमित भनिएका व्यक्तिले आफु संक्रमित नभएको भनी फोनमा जानकारी दिएपछि तुलसीपुरका संक्रमित ३४ बर्षीय व्यक्ति को हुन ? भनेर फेरि खोजी सुरु भएको छ।
तुलसीपुरका कोरोना संम्पर्क व्यक्ति विमल केसीले यसअघि संक्रमित भनिएका व्यक्तिले फोन गरेर आफ्नो रिपोर्ट नेगेटिभ आएको तथा आफु कोरोना संक्रमित नभएको भन्ने जानकारी दिएको हुँदा संक्रमित व्यक्तिको खोजी फेरि सुरु भएको जानकारी दिए । केसीले भने–‘अहिले हामी डाँडापातुमा छौं, संक्रमित व्यक्ति को हुन भनेर गाउँ घरमा सोधी खोजी गरिरहेका छौं।’
स्वास्थ्य मन्त्रालयका स्वास्थ्य मन्त्रालयका सहप्रबक्ता डा.समिरकुमार अधिकारीले शुक्रवार बेलुका ८ बजे विज्ञप्ति मार्फत तुलसीपुर ७ का ३४ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । त्यसपछि संक्रमितको खोजी सुरु भएको थियो । संक्रमित व्यक्तिवारे कसैले कुनै सुराक पाउन नसकिरहेको समयमा तुलसीपुरका मेयरले संक्रमित व्यक्ति काठमाडौंमा बस्दै आएको भनेर स्ट्याटस लेखे ।
अधिकाँसले मेयरको स्ट्याटसको आधारमा समाचार लेखे । शनिवार विहान तुलसीपुरका कोरोना संम्पर्क व्यक्ति केसीले पनि संक्रमित व्यक्ति टिचिङ अस्पतालमा कार्यरत रहेको कुरा बताए । तर त्यो कुरा केही बेरमै असत्य सावित भयो । त्यसैले तुलसीपुर ७ का कोरोना संक्रमित ३४ बर्षीय युवा को हुन ? भनेर फेरि खोजी सुरु भएको छ । त्यसैका लागि जनप्रतिनिधि, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी खटिएका छन् ।