तुलसीपुर, जेठ २ । शुक्रवार पहिलो पटक दाङमा कोरोना भाइरस पुष्टि भएका गढवाका दुई युवा ५ दिन अघि मात्रै भारतबाट नेपाल आएका थिए । कपिलबस्तुको कृष्णनगर नाकासम्म उनीहरुलाई ल्याउन गढवा गाउँपालिकाले एम्बुलेन्स पठाएको थियो । संक्रमित मध्य एकजना गोरखपुर र अर्का एकजना मुम्बईवाट आएका व्यक्तिहरु हुन ।
उक्त दिन भारतवाट चार जना संगै आएका थिए । ती चार जनालाई एउटै एम्बुलेन्समा राखेर दाङ ल्याएपछि सोझै क्वारेन्टिनमा पठाइएको हो । इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरिक्षक भरतसिंह राठोरले संगै आएका चार जना मध्य दुईजनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताए । प्रहरीले विहीवार मात्रै उनीहरुसहित कञ्चनपुर नाका हुँदै भारतवाट आएका थप तीन जनासहित सात जनालाई पनि एउटै एम्बुलेन्समा राखेर नमुना परिक्षणका लागि अस्पताल पुर्याएको प्रहरी निरिक्षक राठोरले जानकारी दिए ।
कञ्चनपुर नाकावाट आएका ती तीनजालाई पनि एम्बुलेन्स पठाएर सात दिन आगडि दाङ ल्याइएको हो । उनीहरुलाई पनि घर जान नदिएर सोझै क्वारेन्टिनमा लगेर राखिएको राठोरले बताए । शुक्रवार ती तीन जनाको पनि रिपोर्ट नेगेटिभ नै आएको छ । शुक्रवार नै कोरोना पुष्टि भएका तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का ३४ बर्षीय युवा भने काठमाडौंको एक हस्पिटलमा कार्यरत रहेको खुल्न आएको छ । तुलसीपुरका मेयर घनश्याम पाण्डेले त्यो जानकारी दिएका छन् । ती युवा काठमाडौंमै रहेका छन् । उनको नमुना संकलनपनि उतै भएको हो ।