दाङ, जेठ २ । बाँकेबाट आठ जना कोरोना संक्रमितलाई दाङ ल्याउन थालिएको छ । शुक्रवार नरैनापुर गाउँपालिकामा भेटिएका नयाँ ८ जना संक्रमितलाई बाँकेबाट दाङको बेलझुण्डी कोरोना विशेष अस्पतलामा ल्याउन लागिएको छ । बाँकेका प्रहरी प्रबक्ता शिब सिंहले त्यो जानकारी दिएका हुन । आइसोलेसन बेडको अभावका कारण बाँकेबाट विरामीहरु दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा पठाउने तयारी भइरहेको उनले बताए ।
बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा जम्मा २५ वटा आइसोलेसन बेड मात्रै छन् । त्यो यसअघि नै भरिसकेको छ । आइसोलेनस बेडको अभावका कारण विरामीलाई बाँकेवाट दाङ ल्याउन थालिएको हो ।
यसअघि पनि बर्दियाकी ११ बर्षीया बालिकालाई बेलझुण्डी ल्याउन खोज्दा विरोध भएको थियो ।त्यसपछि बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतलामै ती बालिकालाई राखिएको थियो । बाँकेवाट ८ जना संक्रमितलाई दाङ ल्याउन लागेको बारेमा स्थानीय प्रशासनले भने अनभिज्ञता प्रकट गरेको छ ।