दाङ, जेठ १ । सरकारद्धारा प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहका रुकुम पश्चिम एक नेता चन्द्रबहादुर बुढाले भुमिगत रुपमै जनवादी बिहे गरेको जानकारी दिएका छन् । रुकुमको आठविसकोट नगरपालिका वडा नम्बर ८ निवासी बुढाले त्रिवेणी गाउँपालिका वडा नं. ५ जिवाङ निवासी मेनुका ओलीलाई विवाह गरेको पत्रचार गरेका छन् । ओलीपनि नेकपाकै विद्यार्थी संगठनमा आबद्ध छिन् ।
उनीहरुको विवाहको आयोजना भने नेकपाको राप्ती व्यूरोले गरिदिएको बुढाले बताएका छन् ।
बुढाले सामाजिक दुरि कायम गरेर जनवादी विवाह गरिएको बताएका छन् । बुढाले आफ्नो बिहेमा हुने खर्च समाजसेवामा लगाएको बताएका छन् । उनले रुकुमको आठविसकोट नगरपालिकामा निर्मित कोरोना अस्पताललाई २५ हजार र दाङको बबई गाउँपलिकाका निवासी सहिद गोकुल रानाको बालबालिकाको शिक्षा दिक्षाको लागि थप २५ हजार सहयोग गरेको जानकारी दिएका छन् ।
गोकुल राना काठमाडौंमा बम विस्फोटमा परि गत साल मारिएका थिए । बुढा विप्लवका दाजु बीरजंग लगाएत २१ जना नेतासंगै दाङको राजपुरबाट राप्ती व्यूरोको बैठक चलिरहँदा पक्राउ परेपनि केही समय अगाडि मात्रै जेलवाट छुटेका हुन । बुढाकै नेतृत्वमा तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि कालोमोसो दलिएको उनका साथीहरुले जानकारी दिएका छन् ।