
दाङ, वैशाख ३० । बर्दियाकी पहिलो कोरोना संक्रमित ११ बर्षीया बालिकालाई मंगलवार बेलुका बाँकेस्थित कोरोना विशेष अस्पतालमा ल्याइएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले मंगलवार बेलुका संक्रमित बालिकालाई बाँकेको खजुरास्थित सुशील कोईराला क्यान्सर अस्पतालमा निर्मित कोरोना विशेष अस्पतालका लागि पठाइएको जानकारी दिएका छन् ।
बर्दियाको राजापुर नगरपालिका वडा नं. ५ निवासी ११ वर्षीया ती बालिकामा सोमवार कोरोना पुष्टि भएको थियो ।
बर्दियामा कोरोना विशेष अस्पताल नभएको हुँदा बाहिरी जिल्ला बाँके पठाउनु परेको प्रजिअ लामिछानेले जानकारी दिए । बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा जम्मा २५ आइसोलेसन बेड छन् । यसअघि नै त्यहाँ २४ जना संक्रमितलाई राखि सकिएको छ । खजुरामा बेड अभाव हुन सक्ने कुरालाई मध्यनजर गर्दै दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ल्याउन खोज्दा त्यसको कतिपयले विरोध गरेका थिए ।
संक्रमित बालिका गत चैत ५ गते हजुरआमासँगै हजुरआमाको माईती घर कैलालीको धनगढी उपहानगरपालिका मझगाउँमा झन्डै महिना दिन बसेर वैशाख १६ गते मात्रै उनीहरु बर्दियास्थित आफ्नो घर फर्किएका थिए । उनीहरु सोझै राजापुरस्थित किसान माविको क्वारेन्टिनमा लगेर राखिएको थियो । ३ दिन अगाडि स्वाब संकलन गरिएको थियो । रिपोर्ट भने सोमवार पोजिटिभ आएको थियो । प्रजिअ लामिछानेले १६ गते बर्दिया फर्किदा उनीहरु अटो रिक्सा चढेर आएको तथा लिन बालिकाको आमा समेत गएको जानकारी दिए ।
त्यो अटोमा थप अरु दुईजनापनि महिलापनि सवार थिए । उनीहरु सबैको स्वाब संकलन गरिएको छ । हजुरआमा र नातिनी बसेको कैलालीको भजनीस्थित घर सिल गरिएको प्रअिज रिजालले बताए । साथै बालिकामा संक्रमण पुष्टि भएपछि किसान माविको क्वारेन्टिनमा संगै बसेका थप ३३ जनाको पुन स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको छ ।रिपोर्ट नआउँदा उनीहरु सबैलाई घरको प्राङगण भन्दा बाहिर नजान आग्रह गरिएको प्रजिअ लामिछानेले बताए ।