
प्रियास्मृती ढकाल,
बाँके, वैशाख २३ ।नेपालगन्जको त्रिभुवन चोकमा लकडाउन कार्यान्वयन गराउन खोज्ने प्रहरी टोलीमाथि स्थानीयले ढुंगा प्रहार गरेका छन् । त्रिवेणीमोडदेखि त्रिभुवन चोकसम्मको क्षेत्रमा मंगलवार विहान पसलहरु खुलेका थिए । ती पसलहरु बन्द गराउने क्रममा प्रहरी र स्थानीय व्यापारीबीच विवाद बढ्दै गएपछि स्थानीय ढुंगामुढामा उत्रिएका हुन् ।
स्थितिलाई नियन्त्रणमा लिन थप प्रहरी बोकेर गएको भ्यानमाथि स्थानीयले तोडफोड गरिदिएको बाँकेका एसपी वीरबहादुर ओलीले जानकारी दिए । तोडफोडबाट भ्यानका सिसा फुटेका छन् । स्थानीयको ढुंगा मुडाबाट वडा प्रहरी कार्यालयका दुई जना प्रहरी जवानलाई चोट लागेको छ ।
विहान ११ बजेदेखि स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि व्यापारीहरुले त्योभन्दा पहिला पसलहरु खोल्न पाउनु पर्ने माग गरेका थिए । प्रहरीले लकडाउनमा खोल्न नपाइने भन्दै बन्द गराउन खोजेपछि विवाद बढेको हो । घटनास्थलमा डिएसपी शिवबहादुर सिंहको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । कोरोना प्रभावित जोलहनपुरुवासँग जोडिएको घटनास्थल त्रिभुवनचोक, त्रिवेणीमोड क्षेत्रलाई दुई दिन अघि स्थानीय प्रशासनले सिल गरेको थियो ।