प्रियास्मृती ढकाल,
नेपालगन्ज, वैशाख २१ । नेपालगन्जमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालगन्जमा संक्रमित संख्या १० पुगेको छ । आइतवार भेटिएका संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नं.८ जोलहनपुरुवाका हुन् । उनीहरु पहिलो संक्रमितकै घर परिवार र छिमेकी भएको खुलेको छ । भेटिएका संक्रमितमा ७ बर्षका बालबालिकादेखि ५८ बर्ष उमेर समूहका ज्येष्ठ नागरिक समेत छन् ।
६० बर्षीय पहिलो पुरुषमा संक्रमण पुष्टि भएपछि शनिवार उनको परिवार, आफन्त र सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्य ३० जनाको परीक्षण रिपोर्टमा पाँच पुरुष र चार महिनागरी ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
उनका अनुसार, ६० जनाको परीक्षण रिपोर्ट आउनै बाँकी छ । संक्रमित पुष्टि भएलगत्तै जोलहनपुरुवा गाउँलाई नै सिल गरिएको छ । संक्रमितहरुलाई कोरोना अस्पताल खजुराको आइसोलेशनमा लैजाने तयारी गरिएको भेरी अस्पताल नेपालगन्जका प्रमुख डाक्टर प्रकाश थापाले बताए । पहिलो संक्रमित पुरुष स्थानीय मदरसाको गुरु भएकोले बालबालिकामा पनि कोरोना सरेको अनुमान गरिएको छ ।