
वैशाख १९ ।त्यो पुरातन् समाज, सोह्र बर्षे कलिलो उमेर, महिलाहरु घर वाहिर निस्कनै हुन्न भन्ने मान्यता तर पनि बिराटनगरको मिल्स एरियामा रहेको एउटा त्यो सानो स्टुडियोबाट उनले गित गाइन्, त्यो पनि क्रान्तिकारी गित । राणा शासनको जगजगीका बेला गाइएको त्यो गित नै रेडियो नेपालको पहिलो गितका रुपमा आज इतिहासमा लिपिवद्ध छ । हो, रानुदेवी अधिकारीलाई त्यहि गितले प्रथम महिला गायिकाका रुपमा समेत स्थापित गराइदियो । अनि रेडियो नेपालवाट प्रसारित पहिलो गित बन्यो,
नेपाली नेपाली
अघि बढौं हातमा क्रान्ति झण्डा लिई
क्रान्ति झण्डा लिई नेपाली
हे नेपाली आमा बाबु दिदी बहिनी दाजुभाई
सब मिली उद्धार गरौं हाम्रो नेपाललाई
रेडियो नेपालवाट प्रत्यक्ष प्रसारित उक्त गितमा पछि राणा शासकले प्रतिबन्ध समेत लगाए । २००७ सालको शुरुवातमै नेपाली कांग्रेसले प्रचार प्रसारका क्रममा बिराटनगरमा स्थापना गरेको रेडियोमा अधिकारीले त्यो गीत गाएकी थिइन् । त्यस समयमा उनले गाउने गीतहरु प्रत्यक्ष प्रसारण गरिन्थे, र गीतलाई साथ दिने बाजाहरु पनि प्रत्यक्ष नै बजाइन्थे । सानैदेखि गीत गाउने र गुनगुनाउने गरेकी अधिकारी विवाह गरेर कोइराला परिवारसंग जोडिन पुगेकी थिइन् ।
तारिणीप्रसाद कोइरालाको नेतृत्वमा बिराटनगरमा रेडियो स्थापना भएपछि कोइरालाले नै उनलाई रेडियोमा गीत गाउन भनेका थिए । २००७ साल फागुन ७ गते प्रजातन्त्रको स्थापना लगत्तै अर्थात चैत्र २० गते काठमाण्डुमा रेडियो नेपालको स्थापना गरिएको थियो । केही समयका लागि रानुदेवी पनि काठमाण्डु आएकी थिइन् र सिंहदरबारबाट गीतहरु गाएकी थिइन् । त्यसपछि उनी कोलकाता गएर ६ वटा गीतहरु रेकर्ड गराइन्, जसमध्ये दुइवटा गीत क्रान्तिकारी थिए ।
आज देशको क्रान्ति युद्धमा हाम्रो एक पुकारा होस्
लड्दा लड्दै मरे मरौंला यो एउटा नै नारा होस्
खडा भयो जनतन्त्र फौज लौ आउ आउ नेपाली
मातृभूमिले मुक्तकण्ठले डाक्छिन् आउ गोर्खाली
जहाँ जहाँ छौ दौडी आउ तिम्रो मात्र सहारा होस्
लड्दा लड्दै मरे मरौंला यो एउटा नै नारा होस्
पञ्चायती व्यवस्थामा उनका ती क्रान्तिकारी गीत प्रतिबन्धित समेत गरिएका थिए । संगीतलाई अघि बढाउने इच्छाले उनी बनारस गइन् र म्याट्रिक र आइएमा शास्त्रीय संगीतको अध्ययन गरिन्। त्यसपछि उनी विराटनगरमा धेरै वर्षसम्म शिक्षण र राजनीतिमा सकृय रहिन् ।
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी (रानु अधिकारी) को ८४ वर्षको उमेरमा निधन भएको हो । अल्जाइमर्स र पार्किन्सन्स रोगबाट पीडित उनको केएमसी अस्पताल काठमाडौंमा उपचारका क्रममा आज बिहान २ बजे निधन र लकडाउनका बीच आजै विहान उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार समेत गरिएको छ ।
अन्तिम संस्कारमा छिमेकका र केहि आफन्त गरि करिव २० जनाको सहभागिता थियो । अधिकारीका छोरा र छोरी अमेरिकमै रहेका कारण पशुपतिका पंण्डितले दागबत्ति दिएको जनाइएको छ । उनी केही समयअघि मात्र अमेरिकाबाट काठमाडौं फर्किएकी थिइन् । छोरा अविन अधिकारीसँग उनी केही समय अमेरिकामै रहेकी थिइन् । रानुदेवीका जेठी छोरी र छोरा अमेरिकामा बस्दै आएका छन् ।
२०३६ सालको शिक्षक आन्दोलनमा जेल परेकी रानुदेवी जनआन्दोलनपछि केही समय नेपाल महिला संघ मोरङको अध्यक्षको जिम्मेवारीमा थिइन् । अधिकारी आदर्श बालिका विद्यालय विराटनगरमा अध्यापन समेत गरिन् । सरल स्वभावकी रानुदेवी विद्यार्थीका लागि पनि निकै आदरणीय रहेको उनलाई नजिकवाट चिनेकाहरु बताउछन् ।