२०८१ बैशाख १९ गते बुधवार

रोल्पामा बम विस्फोटमा मारिएका ४ बालबालिकाको शव अझैं उठ्न सकेन


दाङ, बैशाख १९ । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ७ को जंगलमा बम बिस्फोट हुँदा मारिएका ४ बालबालिकाको शव अझैं उठाउन सकिएको छैन । विहीवार बेलुका ६ बजेतिर बाख्रा चराउन गएका उनीहरु घर फर्किदै गर्दा माईतेकापीना वनको दुब्ला खोला नजिकै बम बिस्फोटमा परेर मारिएको भएपनि नजिकै अर्कौपनि बम जस्तै बस्तु रहेका कारण शव उठाउन नसकिएको हो ।

शव भएको ठाउँमा रातभर प्रहरीले सुरक्षा गरेर बसेको थियो । ईलाका प्रहरी कार्यालय होलेरी, प्रहरी चौकी जुगाँर र प्रहरी चौकी नुवागाउँबाट खटिएको प्रहरी टोलीले रातभर घटनास्थलको सुरक्षा गरेको जिल्ला प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए । दाङ, सल्यान, रोल्पा लगाएका जिल्लाहरुमा रातभर पानी परेको थियो ।

डिएसपी गुरुङका अनुसार बम डिस्पोज गर्नको लागि विहान नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको छ । विहीवार रात परेको हुँदा डिस्पोज गर्न संभव नभएको र शवपनि उठाउन नसकिएको उनले बताए । बम विस्फोटमा परि त्रिवेणी गाउँपालिका वडा नं.७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगीको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीले उनीहरुले त्यो बम खेलाउँदै ल्याएका थिए वा त्यही उनीहरुले छोएपछि विस्फोट भएको हो ? भन्ने बारेमा एकिन भइनसकेको जानकारी दिएको छ । माईतेकापीना जंगलमा विक्रम संवत २०६२ सालमा तत्कालिन नेकपा माओवादी र सरकारका बीचमा भिडन्त समेत भएको थियो । सोही समयमा ती बमहरु माओवादीले छोडेको हुन सक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *