हेमराज शर्मा,
दाङ, बैशाख १५ । दाङको शान्तिनगर गाँउपालिका वडा नं. २ अम्मुवाका केही स्थानीयले वन्यजन्तु रतुवाको भाडवन्डा गर्दै थिए । शिकार पछि भागवन्डा गर्दै गर्दा सोमबार दिउँसो डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोली पुग्यो । बन्य जन्तुको मासु भागवण्डा गरिरहेकाहरु अक्कन बक्क परे । भाग्न खोजे । तर त्यहाँ सुरक्षाकर्मी पनि थिए । भाग्न पाएनन् ।
त्यसपछि पाँच जनालाई पक्राउ परे । मासु खान भनि भागवण्डा गरिरहेकाहरुलाई नसोचेकेकै भयो। उनीहरु वन कार्यालयको हिरासतमा लगिए । भागवन्डा गरिरहेका ५ जनालाई रतुवाको मासुसहित आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा लगिएको निमित्त डिभिजनल वन अधिकृत धरणिधर चौधरीले बताएका छन् ।
वन क्षेत्र नजिकैको खोल्सामा रतुवा देखेपछि त्यहाँ वरपरका स्थानियहरु जम्मा भएर खुर्पा, ढुङ्गा, गुलेली प्रयोग गरी मारेको भन्ने खुल्न आएको चौधरीले जानकारी दिएका छन् ।मारीसकेपछि गाँउलेहरु मिलेर मासु भागवन्डा गर्दै गर्दा उनीहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा शान्तिनगर गाँउपालिका वडा नं. २ अम्मुवाका रामबहादुर नेपाली, कलबहादुर भण्डारी, दिलबहादुर दमाई, तुलसीराम वली, ओपेन्द्रबहादुर भण्डारी रहेका छन् । घटनाका विषमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिएका छन् ।