
तुलसीपुर, बैशाख ११ । बबई गाउँपालिका वडा नं. १ गंगटेका वडा सचिव हरिप्रशाद पन्थिले आत्महत्या गरेका छन् ।प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले पन्थिले विहीवार विहान ८ बजेतिर वडा कार्यालय भित्रै आत्महत्या गरेको भन्ने खवर आएको जानकारी दिए ।
३६ बर्षीय पन्थि कपिलबस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ४ का बासिन्दा हुन । उनले दुई महिना अगाडि मात्रै वडा सचिवमा नाम निकालेको भन्ने खुलेको छ ।सचिवमा नाम निकालेपछि पन्थि गंगटेमा पोष्टिङ भएको र उनी वडा कार्यालयमै बस्दै आएको भन्ने खुल्न आएको प्रजिअ रिजालले जानकारी दिए ।
दाङ जिल्ला प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले वडा सचिव पन्थि विहीवार विहान ८ बजेतिर वडा कार्यालय भित्रै झुण्डिएको अवस्थामा फेला परेका भएपनि प्रहरीलाई भने विहान दश बजेतिर मात्रै खवर मिलेको जानकारी दिए । खवर आए लगतै प्रहरीलाई घटनास्थल तर्फ पठाएको उनले बताए । त्यस्तै परिवारका सदस्यलाई खवर गरेको हुँदा कपिलबस्तुवाट परिवार समेत घटनास्थल तर्फ जान लागेको उनले जानकारी दिए ।
गंगटे जिल्लाकै विकट भूमि हो । त्यहाँ नेपाल टेलिकमको सिम लाग्दैन । त्यही भएर गएको प्रहरी टोलीसंग अहिले सम्म सम्पर्क हुन नसकेको भट्टराईले जानकारी दिए । प्रहरी घटनास्थल बाट फर्केपछि मात्रै घटनावारे थप भन्न सकिने उनले बताए ।