२०८१ बैशाख १४ गते शुक्रवार

तुलसीपुरका मस्जिद र मद्रसाको अनुगमन


दाङ, वैशाख ७ । दाङको तुलसीपुर क्षेत्रका मस्जिद र मद्रसाको अनुगमन गरिएको छ । उदयपुरमा १३ जना मस्जिद तथा मद्रसामा बस्दै आएका व्यक्तिहरुमा कोरोना भाइरस पुष्टि भएपछि स्थानीय सरकार र प्रशासनले आइतवार तुलसीपुर क्षेत्रका मस्जिद र मद्रसाको अनुगमन गरेका हुन ।

तुलसीपुर क्षेत्रका दुईवटा मस्जिद र एउटा मद्रसामा अनुगमन गर्दा कतैपनि बाहिरवाट आएका जमाती वा व्यक्तिहरु फेला नपरेको संघीय सांदस हिराचन्द्र केसीले बताए ।

मेयर घनश्याम पाण्डेले मस्जिदहरुका विदेशवाट आएका मासिनहरु बसेको भन्ने व्याप्त हल्लाको समाधान गर्न मुस्लिम अगुवाहरु संगको समन्वयमा अनुुगमन गरिएको जानकारी दिए ।

उनले मुस्लिम धर्म गुरुहरुले लकडाउन सुरु भएपछि मस्जिद र मद्रसा बन्द गरेको तथा सबैलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेकोमा मुस्लिम समुदायका अगुवाहरुलाई धन्यवाद दिए ।

संविधानसभा सदस्य अनारकली मियाले उदयपुरको घटनाका कारण उत्पन्न आशंका निवारण गर्न अनुगमन गरिएको बताइन । उनले उदयपुरको कुरालाई लिएर देशभरका मुस्लिम समुदायलाई आरोप लगाउनु सही नभएको तर्क गरिन । धार्मिक र जातिय सदभाव खलबल्याउन सकिन्छ कि भनेर एक समुह लागेको हुँदा त्यस्ताको पहिचान गरि कारबाही गर्न उनले माग गरिन ।

युवा शमिर इद्रिसीले आफ्नो घर नजिकै रहेका दुईवटा मस्जिदमा लकडाउन पछि प्राथनाको लागि कोही पनि नआउने गरेको जानकारी दिए । उनले सार्वजनिक सूचना नै टाँसेर मस्जिद र मदरसाहरु बन्द गरिएको बताए ।

तुलसीपुर ५ स्थित फैजना मुस्तबाका अध्यक्ष प्रेमबक्स मियाले लकडाउन पछि मद्रसा बन्द गरिएको र त्यहाँ एकजना गुरु मात्रै बसेर आरधना गर्ने गरेको बताए । ‘कोरोना भाइरसवाट जोगिन हामीले पनि साबधानी अपनाएका छौं,’मियाले भने ‘हामीले सार्वजनिक सूचना जारी गरेर मद्रसा बन्द गरेका छौं।’उनले कुनै एक ठाउँमा भएको संक्रमणलाई हेरेरै पूरै समुदायलाई आशंका गर्नु गलत भएको बताए ।

अनुगमनमा संघीय सांसद हिराचन्द्र केसी, राष्ट्रियसभा सदस्य जगप्रशाद शर्मा, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, संविधानसभा सदस्य अनारकली मिया, त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल तुलसीपुर क्षेत्रका मुस्लिम अगुवा, स्थानीय प्रहरी प्रशासनको सहभागिता थियो ।

प्रकाशित मिति : २०७७ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *