राजेश खत्री,
तुलसीपुर, वैशाख ५ । दोलखावाट पैदल हिडेर आएका सल्यानका दश जना मदजुरको टोली पैदल हिडेर गृहजिल्ला तर्फ लागेको छ । तीन महिना अगाडि सडक निर्माणको कामका लागि दोलखा पुगेका उनीहरु चैत २४ गते दोलखावाट पैदल हिड्न सुरु गरेको बागचौर नगरपालिका वडा नं. ७ रानेटा गाउँका ३६ बर्षीय थलराज चन्दले फरककोणलाई बताए ।
दोलखावाट हिडेको आठौं दिनमा बैशाख ४ गते (बिहीवार बेलुका) दाङको तुलसीपुर आइपुगेको टोली शुक्रवार विहान पैदल हिडेर घर तर्फ प्रस्थान गरेको छ ।
बागचौर नगरपालिका वडा नं. ७ तिर्थेटाकुराका २७ बर्षीय केशव वलीले गाडी आउँछ भन्ने आशमा आफुहरु विहीवारको रात तुलसीपुरमै बसेपनि कसैले सहयोग नगरेका कारण पैदल हिडेरै घर जान लागेको फरककोणलाई बताए ।
‘हामीले सबैसंग गुहार माग्यौं,तर हाम्रो कुरा कसैले सुनेनन्,’ शुक्रवार दिउँसो फोनमा वलीले भने ‘ त्यसैले हामी हिडेरे घर जान बाध्य भयौं।’
तुलसीपुरका बुधबार बेलुका आइपुगेका उनीहरु सबै बागचौर नगरपालिकाका हुन । त्यसमा एक १५ बर्षीय बालक र एकजना सुस्तश्रवन भएका व्यक्तिपनि छन् ।
‘बरु अरु ठाउँमा सहयोग मिल्यो, आफ्नो ठाउँमा झनै बढी आशा थियो,’ वलीले भने ‘तर आफ्नै ठाउँमा हाम्रो झनै पीडा कसैले बुझ्न कोसिस गरेनन्।’
आठ दिन लामो पैदल हिडेर आएका उनीहरु सैका खुट्टा सुन्निएका छन् । कतिले खुट्टामा कपडाले बाँधेरै भएपनि यात्रा जारी राख्न बाध्य छन् । ‘खुट्टा दुखेर हिड्नै नसक्ने अवस्था छ’ वलीले थपे ‘ हामी जस्ता गरिवको लागि सरकार छ जस्तो लागेन।’
उनीहरु यहाँसम्म चिउरा, चाउचाउ र पानी खाँदै आइ पुगेको बताए । यो बीचमा उनीहरु कतै सडक पेटी र कतै जंगलमा बास बसे । आफुले जति नै कष्ट खेप्नु परेपनि उनीहरुले घरका मानिसलाई भने कहिलै त्यो पीडा व्यक्त गरेनन् । राम्रै संग खान बस्न पाएको तथा ठाउँ ठाउँमा स्थानीयले सहयोग पाएको बताउने गरेको उनीहरुले प्रतिक्रिया दिए ।
कुनै– कुनै ठाउँमा भने स्थानीय क्लवहरुले सुत्ने ठाउँ सम्मको व्यवस्था गरिदिएका रहेछन् । कति ठाउँहरुमा छोटो–छोटो रुटमा भएपनि स्थानीय जनप्रतिनिधिले गाडीको व्यबस्था गरिदिएका रहेछन् ।
अनेक संघर्ष गर्दै जसोतसो तुलसीपुर आइपुगेको समुहलाई तुलसीपुर उपमहानगरपालिकाका वडा अध्यक्ष बीरेन्द्रकुमार शाहको टोलीले बुधवार बेलुका खाना खुवाएको थियो ।
शाहको समुहले खाना खुवाउँदै गर्दा तुलसीपुरका कार्यपालिका सदस्य अमर नेपाली लगाएका जनप्रतिनिधि हिड्दै आएका मजदुरलाई घरसम्म पठाउने गाडीको व्यवस्थापन गर्न भन्दै लागि परेका थिए ।
संयोगवस कुपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनपनि त्यही आइपुगेपछि उनीसंगपनि मजदुरले गुहार मागिरहेका थिए । उनीहरु ठाउँ ठाउँमा फोन घुमाई रहेका थिए । बुधवार बेलुका सल्यान जान संभव नभएपछि उनीहरुलाई तुलसीपुरमै रात बस्न भनियो । तर विहानपनि गाडी आएन । अनि उनीहरु पैदलै हिडेर सल्यान जान बाध्य भए ।
‘ सर हामी केही माथि पैदल हिडेर पुगेका थियौं, त्यहाँ हामीलाई गाउँलेले छोटो बाटो देखाइदिनु भयो र हामी अहिले जंगलको छोटो बाटो हिडिरहेका छौं,’ वलीले भने । त्यसरी हिडेर अबको दुई दिन पछि मात्रै घर पुग्न संभव हुने वलीले जानकारी दिए ।
सडक निर्माणको काम रोकिएपछि ठेकेदारले सबैलाई बाटो खर्च भनेर २ देखि ३ हजार दिएर पठाए । काम रोकिएपछि के खाने ? कसरी बाँच्ने भन्ने समस्या भयो । जे हुन्छ भनेरै घरै फर्किने निधो गरेर हिडेको उनीहरुले बताए ।
घरमा पनि रबिपात (हिउँदेबाली) भित्र्याउने चटारो छँदै छ । घरमा गहुँ भित्र्याउने चटारो छ । अब मकै रोप्ने तथा धानको व्याड राख्ने क्रमपनि सुरु हुन्छ।