
तुलसीपुर, बैशाख ४ । तुलसीपुर शिक्षा शाखाको वैठक डिजिटल माध्यमबाट भएको छ ।विहीवारको वैठकमा संक्रमणको अवस्था र यसपछिका विभिन्न शैक्षिक गतिविधिका वारेमा छलफल भएको छ ।
शिक्षा महाशाखा प्रमुख भाष्करराज गौतमले वैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरेर विद्यालयहरुले सामाजिक सञ्जाल, टेलिफोन वा अनलाइनबाट नतिजा प्रकाशन गर्न निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले वैशाख १५ गतेभित्र अनिवार्य रुपमा विद्यालयहरुले नतिजा प्रकाशन गर्नुपर्ने निर्णय गरेको समितिका संयोजक देवराज विकले जानकारी दिए । नतिजा समयमै प्रकाशन गर्न सकिएन भने त्यसले नयाँ शैक्षिक सत्रलाई असर गर्ने भएको हुँदा यस्तो निर्णय गरिएको उनले बताए ।
विगतमा जस्तै भर्ना कार्यक्रम अगाडि नबढाएर विद्यालय सञ्चालन र भर्ना कार्यक्रम एकैपटक अगाडि वढाउने निर्णय बैठकले गरेको छ । अस्वस्थ प्रतिष्पर्धा नहुने गरी नतिजा प्रकाशन लगत्तै विद्यालयहरुले विभिन्न माध्यमबाट भर्ना प्रक्रिया अगाडि वढाउन सक्ने निर्णय गरेको छ ।
वार्षिक शैक्षिक कार्यक्रम अनुसार २१० दिन नै पढाइ हुने वातावरण मिलाउन लकडाउनको अवस्था हेरेर विभिन्न वार्षिक विदा कटौती गर्ने समेत निर्णय गरिएको छ । विभिन्न विदा समेत कटौती गर्दापनि समय नपुगेमा शनिवार लगायत विभिन्न समयमा पनि अध्यापन गराउनुपर्ने निर्णय भएको छ ।
वैठकमा नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षमा बसेको हो ।