तुलसीपुर,चैत ३० । अबदेखि तीन जना भन्दा बढी राहात वितरणमा जान नपाइने भएको छ ।स्थानीय प्रशासनले आइतवारदेखि लागुहुने गरि यो नियम दाङमा लागु गर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले शनिवार एक विज्ञप्ति मार्फत निर्देशन दिएका हुन ।
एकजना जनप्रतिनिधि, एकजना सुरक्षाकर्मी र एकजना सहयोगदाता मात्रै राहात वितरण कार्यमा सहमागि हुन स्थानीय प्रशासनले आग्रह गरेको छ । राहत वितरण गर्दा भिडभाड हुने गरेको भन्ने गुनासोको आधारमा स्थानीय प्रशासनले नयाँ नियम लागु गरेको हो ।
लकडाउनले गर्दा समस्यामा परेका श्रमिक र अति विपन्न परिवारलाई राहात वितरणको नाममा मानिसहरुको भिडभाड हुने गरेका तस्विरहरु सार्वजनिक भइरहँदा स्थानीय प्रशासनले नयाँ नियम जारी गरेको छ । राज्यले नै सामाजिक दुरी कायम गर्न आग्रह गर्दैै आएको भएपनि राहात वितरणको नाममा लापरवाही हुँदै आएको देखिएको थियो । त्यसले कोरोना संक्रमणको जोखिम थपेको थियो ।