तुलसीपुर,चैत २९ । तुलसीपुर क्षेत्रका किसानले खीर खान भन्दै प्रहरीलाई निशुल्क रुपमा दूध उपलब्ध गराएका छन् । यहाँका किसानले शनिवार प्रहरीलाई १ सय ६० लिटर दूध खीर खानु भन्दै कार्यालयमै पुगेर दिएका हुन । जसको नेतृत्व राष्ट्रिय पशुपालक दूग्ध उत्पादन समाज नेपाल तुलसीपुर नगर समिति दाङका अध्यक्ष लोकराज डाँगीले गरेका थिए ।
डाँगी लगाएका १४ जना किसान दूध बोकेर आफै इलाका प्रहरी कार्यालय तुलसीपुर पुगेर विशान सात बजेतिर १ सय १० लिटर दूध दिएका थिए । त्यसपछि उनीहरु सशस्त्र प्रहरी वेश क्याम्प तुलसीपुर ९ दोघरे पुगेर थप ५० लिटर दूध प्रदान गरेका हुन ।
रातदिन लकडाउनमा खटिएका प्रहरीलाई साथ दिन र उनीहरुको सम्मान गर्न खीर खाने दूध प्रदान गरिएको अध्यक्ष डाँगीले बताए । खीर खान किसानले निशुल्क रुपमा दिएको दूधको बजार मुल्य ११ हजार २०० रुपैंया बराबर पर्छ ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेपनि सामेल थिए । उनले किसानले सुरक्षाकर्मीलाई खीर खाने दूध दिएको घटनावाट सबैले पाठ सिक्नुपर्ने धारणा राखे ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले किसानले दीर खानु भन्दै कार्यालयमै आएर दूध दिएको घटनाले सबै खुसी भएको प्रतिक्रिया दिए । किसानले आइतवार ट्राफिक प्रहरी कार्यालय तुलसीपुरलाई पनि खीर खानका लागि यसैगरि निशुल्क दूध उपलब्ध गराउने जानकारी दिएका छन् ।