
दाङ,चैत २० । रुपैडिहा नाकामा अलपत्र एक सय ८१ जना नेपालीलाई नेपाल–भारत सीमाना क्षेत्रको दशगजा क्षेत्रको क्वारेन्टाईनमा राखिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ जयसपुरमा ४५ वटा अस्थायी क्वारेन्टाईन निर्माण गरि भारतवाट रुपैडिहा नाकामा चारदिन देखि अलपत्र अवस्थामा बस्दै आएका नेपालीलाई विहीवारदेखि क्वारेन्टाईनमा राखिएको छ ।
४५ वटा अस्थायी टेन्ट निर्माण गरि उनीहरुलाई त्यहाँ राखिएको नेपालगन्जकी उपमेयर उमा थापा मगरले जानकारी दिइन ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीले ती क्वारेन्टाईन निर्माण गरेका हुन । त्रिपाल भने नेपाली सेनाले उपलब्ध गराएको उपमेयर मगरले बताइन ।
नेपालीलाई नेपाल–भारत सीमाना नाकाको निर्माणाधिन सुख्खा बन्दरगाहा क्षेत्रको खुल्ला चौरमा निर्मित क्वारेन्टाईनमा उनीहरुलाई १४ दिन सम्म राखिने भएको छ ।उनीहरु बाँकेको हिरमिनिया, साईगाउँ, जयसपुर लगायत नाकाबाट लुकीटिपी प्रवेश गरेका थिए ।
उनीहरुलाई सहजै नेपाल प्रवेश दिने अधिकार स्थानीय प्रशासनले नदिएपछि चर्कौ नारावाजी र विरोध हुँदै आएको थियो ।
उपमेयर मगरले भनिन् –‘बरु खुल्ला अकाँसमा बस्छौं, आफ्नै भूमिका प्राण त्याग्छौं तर फर्केर फेरि भारत जान्नौं भन्ने उहाँहरुको अडानले गर्दा दशगजा क्षेत्रको चौरमा राख्नु परेको हो।’ उपमेयर मगरले दुई दिन अगाडि मात्रै ३ महिला र ५ बालबालिकालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनामा राखिएको जानकारी दिइन ।
अशक्त, महिला र बालबालिका ९ जनालाई आफुहरुको विशेष आग्रहमा नेपालगन्ज उपमहानगरपालिकाको उनीहरुलाई प्रवेश दिइएको मगरले बताइन । जयसपुरमा अस्थायी क्वारेन्टाईनमा राखिएका १ सय ८१ जनाको खानादेखि सम्पूर्ण कुराको व्यवस्थापन नेपालगन्ज उपमहानगरपालिकाले गर्ने उपमेयर मगरले जानकारी दिइन ।