
तुलसीपुर,चैत १८ । घोराहीमा एकजना वडा सचिवले आफ्नो घरमा डेरामा बस्दै आएकी एक नर्सलाई घरवाट निकालेका छन् । कोरोना भाइरस सर्ने त्रासका कारण वडा सचिवले नर्सलाई घरवाट निकालेको खुल्न आएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ गणेपुर घर भइ हाल घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा कार्यरत २० बर्षीया नर्स सृजना खड्कालाई घोराही २ का वडा सचिव नारायण आचार्यले घरवाट निकालेको आरोप लागेको छ ।
घोराही १८ नवलपुरस्थित आचार्यको घरमा गत मंसिरदेखि साथीहरु संगै मिलेर भाडामा बस्दै आएकी खड्कालाई घरमा बस्न नदिएपछि हाल उनी घोराहीस्थित एक होटेलमा बस्दै आएकी छन् ।
लक–डाउनको समयमा सबै घर भित्रै बस्दापनि विदा नपाएपछि आफु डेरा र हस्पिटल आवत जावत गरेको हुँदा वडा सचिवले कि हस्पिटल छोड्न कि आफ्नो घर छोड्न भनेको हुँदा बाध्य भएर डेरा छोडेको सृजनाले फोनमा बताइन ।
‘म पूर्ण सुरक्षित विधि अपनाएर मात्रै काम गर्छु । मेरो कारणले कोरोना कसैलाई सर्दैन भन्ने विश्वास दिलाउन खोज्दापनि उहाँले मान्नु भएन,’ सृजनाले भनिन् ‘केही उपाए नलागेपछि चैत १५ गतेदेखि गौरीगाउँस्थित बुढाथोकीको होटेलमा बस्दै आएकी छु।’
तर वडा सचिव आचार्यले भने त्यो कुरा स्वीकार गर्न तयार भएनन् । नर्स सृजना आफ्नो घरमा भाडामा बस्दै नबसेको भन्ने जस्ता दाबी सुरुमा गरेको भएपनि पछि भने उनले आफुले नभइ आफ्नी परिवार कमला आचार्यले सृजनालाई घरमा नआउने आग्रह गरेको हुन सक्ने बताए ।
उनले आफुले नर्स खड्कालाई कुनै त्यस्तो दुरव्यवहार नगरेको तथा घरवाट नलिकालेको फोनमा जिकिर गरे । सोमवार नै एक बक्तव्य जारी गर्दै दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले विपदको घडीमा मानविय सेवामा संलग्न स्वास्थ्यकर्मीलाई घरवाट निकाल्न दबाव दिए कारवाही गर्ने चेतावनी दिइसकेका छन् । उनले जिल्लास्थित स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीले केही घर धनिले घरमा नबस्न भनेर उर्दी जारी गरेको घटना सुन्नमा आएको भन्दै त्यस्तो चेतावनी दिएका छन् ।