तुलसीपुर, चैत १७ । आइतवार राति छोरी लक्ष्मी वली राति ११ बजे घर पुग्दा ४१ बर्षीया उनकी आमा आशा वलीको खुसीले सीमानै थिएन । दाङको सबैभन्दा पश्चिम सीमाना बबई गाउँपालिका वडा नं. २ ट्वाँङखोला निवासी लक्ष्मी५ दिने आइसोलेसन पछि आइतवार राति मात्रै घर फर्किएकी थिइन ।
काठमाडांैको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टको आधारमा लक्ष्मीमा कोरोना भाइरसको संक्रमण नदिएपछि उनी सोही दिन नै तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालवाट डिस्चार्ज भएकी थिइन ।
२१ बर्षीया लक्ष्मी चैत ४ गते विहान १० बजेतिर कतार हुँदै काठमान्डौ आएकी हुन । उनलाई कतिबेला घर पुगम भन्ने भएको थियो । सोही दिन नै काठमान्डौंदेखि बसमा हिडिन । काठमान्डौंदेखि दाङ आउन लगभग १२ घन्टा लाग्छ । लक्ष्मी एकाविहानै तुलसीपुर आइपुगेको भएपनि त्यहाँदेखि पश्चिम ट्वाँङखोलास्थित घर पुग्न अरु दुई घन्टा जति लाग्यो । लक्ष्मी चैत ५ गते विहान घर पुगिन ।
आउँदा ठाउँ÷ठाउँका एयरपोर्टमा स्वास्थ्य चेकजाँच हुन्थ्यो । उनलाई ज्वरो, रुघा खोकी त्यस्तो कुनै लक्षण थिएन । कतारवाट आएको १० दिन विति सकेको थियो । सबै ठिक ठाक थियो । श्रमका लागि२ वर्ष अगाडि कतार पुगेकी लक्ष्मी त्यहाँ बस्ने आईडीको म्याद सकिन लागेको हुँदा फिनिसिङमा घर फर्केकी हुन ।
तर, चैत १२ गते एकाएक नसोचेकै भइदियो । उनलाई खोज्दै प्रहरी घरमै पुग्यो । सोही दिन कतारवाट आएकी काठान्डौं निवासी एक किशोरीमा कोरोना भाइरसको पुष्टि भयो । अनि उनीसंगै प्लेनमा आउनेहरुको खोजी व्यापक भयो । सार्वजनिक लिष्टमा दाङका दुईजना युवती भन्ने थियो । पछि एकजनाको गलत ठेगाना भन्ने पुष्टि भयो । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालका अनुसार गलत ठेगाना लेखाएकी महिलालाई खोज्न प्रहरी उक्त दिनभर जसो सास्ती खेप्नु प¥यो । पछि बेलुकी मात्रै ती महिला धादिङ निवासी भन्ने प्रष्ट भयो ।
लक्ष्मी र काठमाडौंकी संक्रमित ती युवती एकै दिन कतारवाट आएको भएपनि प्लेन फरक÷ फरक थिए । ‘ मेरो फ्लाईट १७ तारिकका दिन दिउँसो ३ बजे कतार बाट भएको थियो,’ लक्ष्मीले भनिन् ‘काठमान्डौंकी संक्रमित भनिएकी युवती छुट्टै प्लेनमा आएकी थिइन।’
उनले त्यो कुरा घरमा पुगेका प्रहरीलाई जति संझाउन खोजेपनि मान्दै मानेनन् ।भनेछन् –‘हामीलाई जसरीपनि ल्याउनु भन्ने आदेश छ । तपाँईलाई नलगी जाँदै जान्नौं।’ लक्ष्मीले पनि ठिकै छ भनेर सहज रुपमा स्वीकार गरिन । विश्वभर कोरोना भाइरसको आतंक नै छ । उनी आएको देशमा झनैं बढी तनाव जो थियो ।
‘म सुरक्षित छु भन्ने ढुक्क थिए,’लक्ष्मीले थपिन् ‘तरपनि समाजको आशंका मेट्नु थियो।’
लक्ष्मी कतारवाट आएको कुरा त्यो भन्दा पहिले नै गाउँकै मान्छेले गाउँपालिका र प्रहरीमा निवेदन दिइसकेका रहेछन् । बाटोमा मात्रै त्यो कुरा लक्ष्मीलाई प्रहरीले भनेका रहेछन् ।
बबईको ट्वाँङखोला वाट ल्याएर उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखियो । ज्वरो, रुघा, खोकी जस्ता कुनैपनि कोरोनाका संकेतहरु उनलाई थिएन । त्यसपछि तुलसीपुरकै बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा लगियो । त्यहाँ पुग्ने लक्ष्मी पहिलो व्यक्ति थिइन । लक्ष्मीका अनुसार पहिलो दिन बेलझुण्डीमा त्यस्तो कुनै तयारी गरिको थिएन ।
नास्ताको व्यवस्थापनि थिएन । फोहोरपनि थियो रे । उनलाई एक्लै बेड नं. ३ मा राखिएको रहेछ । दोस्रो दिनदेखि अरुपनि आशंका गरिएका मानिसहरु त्यहाँ लगिए । विस्तारै सुविधापनि राम्रो हुँदै गयो । उनी डिस्चार्ज हुँदासम्म अस्पताल सेवा सुविधाले राम्रो भइसकेको थियो ।
स्कूले शिक्षापनि पुरा नगरेकी लक्ष्मीलाई विदेशीनु रहर भन्दापन बढ्दा कहर थियो । घरको बोझ उनकै काँधमा थियो । बुवा सम्पर्क विहीन रहेको १२ बर्षजनि पुगिसकेको छ । एउटा भाई माधव ८ बर्षको र झलनाथ अर्कौ भाई १२ बर्षका मात्रै छन् ।
उनीहरुको शिक्षा दिक्षा र पालन पोषन गर्न रोजगारीका लागि विदेश जान आफु बाध्य भएको लक्ष्मीले फोनमा बताइन । गाउँघरमा रोजगारीका अवसर छैनन् । यो हाम्रो यथार्थ हो ।
विदेशबाट भरखरै आएकी छोरी र दिदीलाई प्रहरी आएर उठाएर लगेपछि परिवारचिन्तित बन्यो । लक्ष्मीलाई कोरोनाको संक्रमण त भएको छैन ? भन्ने त्रासदी परिवार र गाउँ घरमा पनि छाउनु स्वाभाविक थियो । जसले ठूलो जोखिम निम्त्न सक्थ्यो । गाउँलेहरुले पनि लक्ष्मीलाई भरखरै विदेशवाट आएकी हैनौं भन्दै त्रसिद नजरले हेर्र्ने ।पहिला गाउँघरको कोही मानिस देश÷विदेशवाट आउँदा साथीसंगी कति भेट्न आउँथे । लक्ष्मीलाई भेट्न कोही आएन । उनी बाहिर निस्कदा पनि मानिसहरु तर्सन गर्थे ।
‘सबैको लागि म ढुकचुक बन्न पुगेकी थिए । मेरो मनमा पनि कहिले काँही आशंकाहरु पैदा हुन्थे,’ घर फर्केपछि लक्ष्मीले भनिन् ‘ अब भने म पनि ढुक्क भए, पाँचदिन आइसोलेसनमा बसेर आउँदा झनै खुसी भएकी छु।’
गलत हल्लाले पीडा दियो
आफुमा कोरोनो भाइरस नभएको पुष्टिको खवर फैलिएपछि गाउँघरले हेर्ने दुष्टिकोणमा समेत परिवर्तन आएको हुँदापनि उनी खुसी छन् ।
तर लक्ष्मीको मनमा सामाजिक सञ्जालमा आएका खवरहरुले भने निकै पीडा दिएको रहेछ । कतिले उनको फोटो र नाम ठेगाना नै सार्वजनिक गर्दै कोरोना भाइरसको पुष्टि भएको भन्ने कुराहरु लेखिदिएपछि त्यसले आफु लगाएत परिवारमा समेत पीडा दिएको लक्ष्मीले बताइन । उनले आफ्नो बारेमा हुँदै नभएको अफबास फैलाउने मानिसहरुलाई चिनेको हुँदा ‘लक– डाउन’ सकिएपछि भेटेर कुरा गर्ने सोचको बताइन ।
‘सत्य तथ्य लेख्नु प¥यो हुँदै नभएको कुरा लेखेर आँफै डाक्टर बनेर गलत कुरा लेख्नु पत्रकारिताको धर्म विपरित हो,’ लक्ष्मीले भनिन् ‘म त्यस्ताहरुका विरुद्ध अदालतपनि जान सक्ने छु।’
लक्ष्मीलाई डाक्टरले नै सरप्राईज दिए
जस्तो भएपनि अस्पताल बस्नु पर्दा को खुसी हुन्छ र । झनै यतिबेला त घरपरिवार, समाज र आफ्नै लागि पनि आइसोलेसनमा नविसी नुहुने । नमुना संकलन गरेर पठाइ सकिएको थियो । कोरोनाले झुक्याउँछ भन्ने कुरा लक्ष्मीले पनि सुनेकी थिइन । मनमा ढुकचुक त थियो नै । यस्तै मनोदशाका साथ लक्ष्मी चैत १६ गते साँझ एक्लो कोठामा अनेक कुरा सोच्दै थिइन ।
त्यही बीचमा चिकित्सक आए । उनी टाढै बाट बोल्दै आए । कुरा संकाष्पद गरे । ‘लक्ष्मी तिम्लाई एउटा कुरा भनम कि नभन भन्नु भयो । मनमा आँधीहुरी चल्यो,’ लक्ष्मीले थपिन ‘तर,उहाँ खुसीले मुस्कुराउनु भयो अनि भन्नु भयो तिम्रो रिपोर्ट नेगेटिभ आयो, लौ बधाई छ।’
त्यसपछि ती चिकित्सकले सोधे छन् – तिमि आज यही बस्ने कि घर जाने ? एकसाश मै लक्ष्मीले जबाफ दिइछन् –म त आजै जाने भनेर । त्यसपछि उनले लगतै घरमा आमा आशालाई फोन गरेर उक्त कुरा भनिन् । आमा खुसीले फोन मै रोइन ।
त्यसको केही बेरमै लक्ष्मीलाई लिन बबई गाउँपालिकाको गाडी आयो । त्यसरी लक्ष्मी ५ दिनको आइसोलेसन बसाई पछि मध्यराति घर पुगिन । जहाँ उनकी आमा खुसीले बाटोमा उलाई लिन आएकी थिइन ।
लक्ष्मीको आग्रह
लक्ष्मीले कतार लगाएका देशमा कोरोना बारेका भयाबह धेरै सुनिन् । नेपालमा त्यस्तो नहोस भन्ने कामना गरिन । ‘हाम्रो देशमा बाहिर जस्तो नहोस। त्यसैले बाहिरवाट आएका जो कोहीले एक पटक चेकजाँच गराउनै पर्छ,’लक्ष्मीले भनिन् ‘त्यो आफु, घर परिवार र समाजका लागि पनि अनिवार्य छ।’