बुटवल, चैत १७ । बुटवलका ३४ बर्षीय बाबुराम थापा क्षत्रीको मृत्यु कोरोना भाइरसका कारण नभएको पुष्टि भएको छ । उनको मृत्यु आईतवार भएपछि कोरोनाका कारण उनको मृत्यु भएको आशंका गरिएको थियो । काठमाडांैको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टको आधारमा क्षत्रीको मृत्यु कोरोना भाइरसवाट नभएको पुष्टि भएको हो ।
सामेवार मात्रै उनको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । रोजगारीको लागि दुबई गएका क्षेत्री चैत्र ६ गते राति रूपन्देहीको सैनामैना नगरपालिका–४ सिसौडांडास्थित भाडाको कोठामा आइपुगेका थिए ।
दुबईबाट आउँदा नै सामान्य ज्वरो आएका क्षेत्री घर आइसकेपछि मेडिकल, स्वास्थ्यचौकी हुँदै चैत १३ गते बुटवल धागो कारखानास्थित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालमा पुगेका थिए। लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको क्षत्रीको शव परिवारलाई बुझाइने तयारी भइरहेको छ ।