तुलसीपुर, चैत १५ । जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपी सुमित खड्काले ‘लक डाउन’ उलंघन गर्नेहरुलाई अबदेखि पक्राउ पछि मुद्दा चलाउने चेतावनी दिएका छन् । सरकारले कोरोना भाइरसको संभावित संक्रमण नियन्त्रण गर्ने उदेश्यले चैत ११ गतेदेखि देशभर सुरु गरेको ‘लक डाउन’ उलंघन गर्नेलाई हालसम्म पक्राउ पछि संझाई बुझाई छोड्दै आएको थियो ।
‘हालसम्म हामीले पक्राउ गरिएका व्यक्तिलाई संझाएर छोड्ने गरेका थियौं,’ डिएसपी खड्काले भने ‘तर,अब भोलिदेखि अवस्था हेरेर मुद्दापनि चलाउने छौं।’ उनले अटेरी गर्ने व्यक्तिलाई पक्राउ गरि कोरोना भाइरसको महामारी फैलाउन भूमिका खेलेको कसुरमा मुद्दा चलाउने जानकारी दिए ।
त्यस्तो मुद्दा खेपेका व्यक्तिलाई अवस्था हेरि ६ महिनादेखि एक वर्षसम्म जेल सजाय हुन सक्ने कुरापनि डिएसपी खड्काले बताए ।
त्यस्तै उनले प्रहरी सबै भन्दा फ्रन्ट लाइनमा खटिने हुँदा सबै भन्दा कोरोना भाइरस संक्रमणको जोखिम प्रहरीलाई भएको दाबी गरे । ‘सबैभन्दा जोखिम प्रहरीलाई छ,तरपनि हामीलाई अति आवश्यक बस्तु प्रदान गरिएको छैन,’ उनले भने ‘डिउटीमा खटिने प्रहरीले राम्रो संग मास्क समेत पाउन सकेका छैन ।
यसैबी दाङमा लक डाउनको चौथो दिन –६३ सवारी साधान नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । यो संख्या अघिल्ला दिनहरुको भन्दा कम हो । शुक्रवार सबैभन्दा धेरै ५८ वटा मोटरसाईकल, दूई स्कूटर, एक अटो, जिप÷कार एक, ट्याक्टर एउटा पक्राउ गरिएको प्रहरीले बताएको छ ।