शंकर के सी,
सल्यान, १४ चैत्र । सल्यानको कपुरकोट गाउँपालिकाले विदेशबाट हालसालै फर्किएकाहरुलाई खोजी गर्दै घरमै गएर परामर्ष दिन सुरु गरेको छ ।भारत लगाएतका देशहबाट आएका नागरिकलाई खोज्दै घरमै पुगेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिले परामर्ष दिदै घरमा छुट्टै बस्न आग्रह गर्दै आएका छन् ।
‘कोरोना भाइरस फैलन नदिन सकेसम्मको प्रयास गरेका छौं,’ गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले भने ‘कपुरकोटस्थित हेल्थ डेस्कमा आएकालाई सोही ठाउँमा र पैदल मार्फत अर्कौ बाटो गएकालाई घरमै पुगेर होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै आएका छौं।’
गाउँपालिकाका ६ वटै वडाहरुमा सतर्कता समिति गठन गरिएको छ । गाउँगाउँमा पर्चा, पमपिलेट लगाएतका माध्यमबाट पनि सचेतना फैलाइएको अध्यक्ष सेनले बताए ।
हेल्थ डेस्क कपुरकोटका फोकल पर्सन देवेन्द्रकुमार सेनले शुक्रवारसम्म कपुरकोट ६ मा ४ जना, कपुरकोट ४ मा एक जना र कपुरकोट ३ मा एक जना विदेशबाट हालसालै आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै विशेष सावधानि अपनाउन आग्रह गरिएको जानकारी दिए ।
गत चैत्र १ गतेदेखि कपुरकोटमा सुरु भएको हेल्थ डेस्कमा विदेशबाट फर्किएका २ सय ८५ जनाको स्वास्थय चेकजाँच गरिएको भएपनि उनीहरुमा कोरोना भाइरस संग मिल्दो जुल्दो त्यस्तो कुनै लक्षण फेला नपरेको सेनले जानकारी दिए । २४ सै घण्टा हेल्थ डेस्क संचालनमा रहेको र हालसम्म ३३ हजार ८४९ जनाको कोरोना स्क्रिनिङ परीक्षण गरिएको फोकल पर्सन सेनले बताए ।