तुलसीपुर, चैत १३ । प्रहरी प्रशासनले ‘लक डाउन’ उलंघन गर्नेहरु माथि कडा निगरानी सुरु गरेको छ । विना उदेश्य घर बाहिर निस्कने र आफुखुसी घुम्नेहरुलाई प्रहरीले धमाधम नियन्त्रणमा लिन सुरु गरेको छ । विहीवार मात्रै प्रहरीले जिल्लाका विभिन्न स्थानवाट २७ जनालाई नियन्त्रणमा लिएको छ । यो संख्या लक डाउन सुरु भएयताको सबैभन्दा धेरै हो ।
जिल्ला प्रहरी प्रबक्ता तथा डिएसपी सुमित खड्काले स्थानीय प्रशासनले जारी गरेको लक डाउन उलंघन गर्ने २५ पुरुष र २ महिना गरि २७ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
जिल्लामा कोराना भाइरसको जस्तो लक्षण भएका विरामीको संख्या अस्पतालहरुमा बढ्न थालेपछि प्रहरीले थप सजगता अपनाउन थालेको हो । सवारी साधनमा गुड्नेहरुलाई मात्रै नभइ पैदल यात्रुलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । ‘अत्यावश्यक काम विना नै घर बाहिर निस्कनेहरुमाथि कडा निगरानी सुरु भएको छ,’ डिएसपी खड्काले भने ।
लक डाउनको पहिलो दिन दाङमा एकजना पनि मानिस पक्राउ परेका थिएनन् । दोस्रो दिन दुईजना पक्राउ परेका थिए । तेस्रो दिन सम्म आइपुग्दा त्यो संख्या गुणत्मक रुपमा बृद्धि भएको देखिएको छ । यसले प्रहरी प्रशासन अब कडाईका साथ प्रस्तुत हुने संकेत गरेको छ ।
७० सवारी साधन नियन्त्रणमा
प्रहरीले विहीवार दाङका विभिन्न स्थानवाट ७० वटा सवारी साधनपनि नियन्त्रणमा लिएको छ । यो संख्या लक डाउन सुरु भए यताकै सबैभन्दा कम हो । दाङमा लक डाउनको दोस्रो दिन २ सय ५६ र पहिलो दिन ३ सय ५० सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
विहीवार पक्राउ परेका साधन मध्य सबैभन्दा धेरै ६३ वटा मोटरसाईकल छन् । स्कूटर ४, अटो १ जिप÷कार १ र एउटा ट्रयाक्टर रहेको प्रहरीले जानकारी दिएको छ । यो तथ्याङ्कले लक डाउन उलंघन गरेर सवारी साधन चलाउनेहरुको संख्या भने उल्लेखनिय मात्रामा घटेको देखिएको छ ।