बिजौरी,चैत १० । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन बिजौरी उद्योग वाणिज्य संघले अत्यावस्यक सेवा बाहेकका सवै व्यवसाय बन्द गर्न आम व्यवसायीहरुलाइ आग्रह गरेको छ ।
बिजौरी उद्योग वाणिज्य संघको सोमबार बसेको आकस्मिक बैठकले एक विज्ञप्ती जारी गरी हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट मुलुकलाई सुरक्षित राख्ने उद्देश्यले बिजौरी बजार बन्द गर्ने निर्णय गरेको छ । सो निणर्य अनुसार बिजौरी क्षेत्रभित्रका सम्पूर्ण पसलहरु चैत १० गतेदेखि चैत २१ गतेसम्मको लागि बन्द गरिएको छ ।
संघका अध्यक्ष प्रेमनाथ योगी र महासचिव बिदुर गौतमको हस्ताक्षरित विज्ञप्तीमा ‘हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कठिन परिस्थितिमा हामी सबै उद्योग व्यापारमा संलग्न उद्योगी व्यापारी व्यवसायीहरुले आ–आफ्नो ठाउँबाट भोली आउन सक्ने विपत्ति समेतलाई दृष्टिगत गर्दै आ–आफ्नो भूमिका प्रभावकारी र इमान्दारी ढंगबाट निर्वाह गर्नु पर्ने बेला आएको तर्फ बिजौरी उद्योग वाणिज्य संघ सम्बन्धित सबै उद्योगी, व्यापारी, व्यवसायीहरुको गम्भिर ध्यानाकर्षण गराउँदछ’ विज्ञप्तीमा उल्लेख छ ।
साथै संघले दैनिक उपभोग्य वस्तुहरु र अत्यावश्यक वस्तुको व्यापार गर्ने व्यवसायीहरुले प्रत्येक दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म खुल्ला गरिदिनु हुन र अन्य समयमा पनि सहज आपूर्ति गरिदिनका लागि उद्योगी, व्यापारी, व्यवसायीहरुलाई अनुरोध गरेको छ ।
संघले आ–आफ्ना उद्योग, व्यापार, व्यवसाय, कलकारखानाहरु बन्द गरी आफू परिवार र समाजलाई उक्त कोरोना भाइरसको जोखिम विरुद्ध सुरक्षित हुँदै रोकथामको उपायहरु अबलम्बन गर्नु अपिल गरेको संघका महासचिव बिदुर गौतमले जानकारी दिए ।