
लिलाधर वली,
घोराही, चैत ९ । दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिरले विशेष पूजाबाहेकका अन्य सबै कार्यकाम गर्न रोक लगाएको छ । जिल्लाको मुख्य धार्मिक गन्तव्यका रुपमा रहेको पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा भिडभाडलाई कम गर्न मन्दिरमा विशेष पूजाबाहेकका अन्य सम्पूर्ण कार्यक्रमहरुमा रोक लगाइको हो ।
कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण सरकारले सार्वजनिक स्थानमा २५ जना भन्दा बढि उपस्थित नहुन आग्रह गरेपछि मन्दिर व्यवस्थापन समितिले धारपानीमा विशेष पूजाबाहेकका अन्य कुनै पनि कार्यक्रम नगर्ने भएको हो । ंसमितिका अध्यक्ष गणेशकुमार अधिकारीले एक विज्ञप्ति निकालेर पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा हुने भिडभाडलाई कम गर्न मन्दिरमा समुहिक रुपमा ठूलो संख्यामा पूजापाठ तथा घुम्न आउन रोकलगाएको बताएका छन । त्यस्तै धारपानीमा पिकनिक, विवाह, लक्ष्यवर्तिका,सामुहिक पूजाको कार्य, मेला,भेलालगायतका सम्पूर्णं कार्यक्रमहरुमा प्रतिवन्ध गरेको हो ।
समितिले चैत ७ गतेदेखि लागु हुने गरि चैत २९ गतेसम्म सर्वसाधारणका लागि मन्दिरमा सामुहिक पूजाआजालगायतका कार्यक्रममा रोकलगाएको हो । पाण्डवेश्वर मन्दिर धारापानीमा दैनिक पूजाआजा तथा घुमफिरका लागि ८०० बढी सर्वसाधारणहरु जाने गरेको मन्दिर व्यवस्थापन समितिका सचिव बिष्णुराम आचार्यले जानकारी दिएका छन ।
‘जिल्लाकै प्रसिद्ध धार्मिक स्थलका रुपमा हुने धारपानीमा पर्यटक तथा दर्शनार्थीहरुको भीडलाई कम गर्न चैतको २९ गतेसम्म सामुहिक कार्यमा रोक लगाइएको छ’,मन्दिर व्यवस्थापन समितिका सचिव आचार्यले भने,‘ अवस्था सामन्य रहे ३० गतेदेखि कार्यक्रमहरु सुरु हुनेछन ।’ त्यस्तै सचिव आचार्यका अनुसार समितिले चैत ९ गते आइतवारदेखि लागुहुने गरि एक हप्ताकालागि मन्दिर क्षेत्रभित्र रहेको सम्पूर्ण पसलहरु समेत बन्द गरिने समेत बताए । मन्दिरमा अन्य दैनिक पूजापाठका कार्यहरु भने भैरहने छन ।