तुलसीपुर चैत ६ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ को प्रतापकोटबाट जितबहादुर घर्तीले सधै तुलसीपुर बजारको उज्यालो नियाल्थे । उपमहानगरपालिकाको अग्लो डाँडो अम्वासमा बस्ने घर्तीलाई तुलसीपुरको उज्यालो आकाशको जुन हेरेजस्तो लाग्थ्यो । वर्षाैदेखि बजारको उज्यालो हेर्दै मन अमिलो बनाउन बाध्य उनीजस्ता यहाँका कैयौँ जनताहरुको खुसी विगत तीन महिनादेखि उचाईमा पुगेको छ ।
मोबाइल चार्ज गर्नका लागि समेत बजार धाउनुपर्ने बाध्यता भोग्दै आएका त्यहाँका जनताहरु घरमा टेलिभिजन राख्ने सोच बनाइरहेका छन् । ‘बत्ती आएर हाम्रो घरमात्रै होइन मन पनि उज्यालो भएको छ’ स्थानीय लिलामणि बाँठाले बताए । उनले मोवाइल चार्ज गर्न पनि तीन घण्टा हिडेर बजार जानुपर्ने बाध्यताको अन्त्य भएको सुनाए ।
सोलाबाट सामान्य बत्ती बाल्ने जोहो गरेको भएपनि वर्षामा त्यसले कामै नगर्ने पनि उनले बताए । ‘वर्षा लाग्दा बाटोको कारणले बजार पनि जान मिल्दैन थियो, बत्तीविनाको अँध्यारो मात्रै होइन फोन पनि गर्न सकिदैन थियो’ बाठाले विगतको दुःख पोखे । तर बिगत तीन महिना यता भने उनीहरुको जीवन सहज भएको छ ।
‘बत्ती भएपछि धेरै कुराको सजिलो भएको छ’ प्रतापकोटकी सुनिता गुरुङले बताइन् । उनले बत्ती आएपछि गाउँमा सहज भएको बताइन् । ‘राति टुक्की बाल्दा आगलागीको खतरा हुन्थ्यो त्यो पनि सजिलो भएको छ’ गुरुङले बताइन् । स्थानीय विद्यार्थी झरना बुढाले रातिको समयमा पढ्न सजिलो भएको बताइन् । उनले बत्ती आएपनि भोल्टेज पूरै नआएको भन्दै विद्युत प्राधिकरणलाई अनुरोध गरेको समेत जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिकाको पहलमा नेपाल विद्युत प्राधिकरणले विद्युत नपुगेका थर्कोट, प्रतापकोट, अम्वास, किमुगैरा लगायतका विभिन्न ठाउँमा विद्युत विस्तार गरिरहेको वडा अध्यक्ष विजय विकले बताए । उनले वर्षाैदेखि बत्ती नै नपुगेको ठाउँमा स्थानीय सरकारको पहलमा पु¥याउने काम भइरहेको समेत बताए ।
बत्ती नपुगेका वडा नम्वर ३ का विकट ठाउँमा रहेका ४ सय ८५ घरमा यसै वर्ष बत्ती पु¥याउने गरी काम अगाडि बढेको पनि अध्यक्ष विकले जानकारी दिए ।