दाङ, चैत ३ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नामिनगर निवासी २४ बर्षीय हिरा डाँगीमाथि खुकुरी प्रहार गरि हत्या गरेको अभियोगमा प्रहरीले तीन युवाहरुलाई पक्राउ गरेको छ । तुलसीपुर ६ गोलौरा निवासी २३ बर्षीय अनुप बस्नेत, २२ बर्षीय सुशील बस्नेत र २५ बर्षीय अमिक खड्का पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता चक्रडम्मर पालले जानकारी दिए ।
उनीहरु सबैलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा गाउँमा लुकिछिपी बसेको अवस्थामा सोमवार बेलुका ७ बजेतिर इप्रका तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगी नेतृत्वको टोलीले पक्राउ गरेको थियो । स्थानीयले भने आरोपित युवाहरुले प्रहरी समक्ष आफैं आत्मसर्मपन गरेको बताएका छन् ।
प्रहरी निरिक्षक पालका अनुसार डाँगीमाथि खुडा प्रहार गर्ने मध्यका एकजना तुलसीपुर १० नयाँ गाउँ निवासी २४ बर्षीय कस्मिर डन्डन भने फरार रहेका छन् । टन्डनले रा ३ प ६३९६ नम्वरको १५० सिसीको निलो पल्सर मोटरसाईकल समेत लगेर फरार भएको प्रहरीले जारी गरेको बक्तव्यमा उल्लेख छ ।
प्रहरीले टन्डनको खोजी तीब्र पारेको तथा नेपाल–भारत सीमानाका लगाएतका छिमेकी जिल्लाहरुमा समेत हुलिया पठाइएको इप्रकाका प्रबक्ता पालले जानकारी दिएका छन् । खुडा प्रहारवाट गम्भीर घाइते डाँगीको बाँकेवाट हेलिकोप्टर चार्टर गरि काठमान्डौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सोमवार विहान साढे १२ बजेतिर तुलसीपुर ६ गोलौरामा डाँगीमाथि खुडा प्रहार भएको प्रहरीले बताएको छ ।