यमकला भुसाल,
तुलसीपुर,फागुन २९ ।दाङको तुलसीपुरमा प्याराग्लाईडिङ तथा अटोमोवाईल्स मेला सञ्चालन हुने भएको छ । आगामी चैत २८ गतेदेखि बैशाख ८ गतेसम्म मेला सञ्चालन हुने भएको छ ।
मेला आयोजक चन्द्रसुर्य यातायात प्रालिले बिहीवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि त्यो जानकारी दिएको हो । प्रालिका अध्यक्ष अरुणकुमार श्रेष्ठले यो मेला प्रदेश ५ कै लागि नौलो हुने दाबी गरे ।
मेलामा मुख्य आकर्षकको रुपमा प्याराग्लाईडिङ ,हट एयर बेलुन,अल्ट्रा लाईट एयर फ्लाईट,प्रदेश स्तरिय गायन प्रतियोगिता, फू्रड फेस्टिबल, प्रत्येक दिन राष्ट्रिय स्तरका नयाँ कलाकारहरुबाट म्युजिक कन्सर्ट र कृर्षि जन्य बस्तु प्रर्दशर्नीमा राखिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रालिका कार्यालय प्रमुख जय पुनले मेलाबाट मुनाफा भएको रकम मध्ये पाँच प्रतिशत अपाङ्ग तथा अनाथ बालवालिकालाई सहयोग गरिने जानकारी दिएका छन् ।
मेलामा प्रदेश नं ५ को पहिचान झल्कने बस्तुहरुको प्रर्दशर्नी एवं बिक्रि,स्थानीय घरेलु उद्योगहरुबाट उत्पादित बस्तु तथा स्थानीय हस्तकला काठ,बाँस एवं माटोजन्य बस्तुहरुबाट बनेका बस्तुहरुको प्रर्दशर्नी,अटोमोवाइल्स लगाएतका सामाग्रीहरुका झन्डै १०० स्टलहरु प्रर्दशर्नीका लागि राखिने जानकारी दिइएको छ ।
करिब ४ लाख मानिसलाई अवलोकन गराउने र ३ करोड बढी आर्थिक कारोवार गर्ने लक्ष्यका साथ मेला लगाउने लागिएको आयोजकले जानकारी दिएको छ ।
मेलामा प्रवेश शुल्क १०० रुपंैया तोकिएको छ । जेष्ठ नागरिक, अपाङ तथा विद्यार्थिलाई टिकटमा सहुलियत दिने भनिएपनि कति ? भन्ने निर्धारण गरिएको छैन । मेला अवधिभर बैंक तथा बित्तिय र इन्सुरेन्स सेवा उपलब्ध गराइने भएको छ ।