काठमान्डौं, फागुन २८ । पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा काठमान्डौंस्थित घरमा बम विष्फोट गराइएको छ ।
लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन घरमा बुधवार विहान अज्ञात समुहले प्रेसर कुकर बम विष्फोट गराएको छ । बाँस्कोटा कारण बाँस्कोटाको निर्माणाधीन घरका साथै अन्य छिमेकीको घरमा पनि क्षति पुगेको छ ।
विष्फोटबाट बाँस्कोटाका दुई छिमेकीका घरका सिसा फुटेका छन् भने छेउमा पार्किङ गरेर राखेको बा १९ च नम्बर ४७८१ को मारूती भ्यानमा क्षति पुगेको छ। बाँँस्कोटाको निर्माणाधिन घरको पर्खालको केही भाग भत्किएको छ।
बाँस्कोटाको पुरानो एक तले घर तीन तले बनाउने काम भइरहँदा अज्ञात समुहले त्यही स्थानमा पौने ८ बजेतिर बम विष्फोट गराएको छ । बाँस्कोटा भने मन्त्री भएदेखि नै बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका छन्।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते राजिनामा दिएका थिए।